● लीला अनमोल
खुसी त छातिभित्रै गुमनाम हुँदो रहेछ, माइली।
देशमा लोकतन्त्र आएर के भो?
मेरो रहरमा लोकतन्त्र झल्किन सकेन।
म अझै दासताको पहाडमा उभिएर
खिन्नताको खुइय्य मारिरहेछु।
बाटाभरि फुलहरू भुलेर रातै भएको देख्दा लाग्छ,
मभित्र पनि अनगिन्ती तृष्णाका कोपिलाहरूहरू छन्,
जो फक्रिन नपाउँदै बोटमै ओइलिन्छन्।
आज,
सपनाहरू जलेर भस्म भएका छन्,
मेरो प्रतिष्ठा धुलिसात् भएको छ,
माटोसँग मिसिएको छ मेरो अस्तित्व।
मेहनतको तन्तु कमजोर भएर
थरथरी काँपिरहेछ।
रातको मिठो निद्रा
त्रास र अपहेलनाले विस्थापित भइसकेको छ।
मभित्रको प्रेम, प्रेरणा, र उत्साह
लखतरान भएर गलिसकेको छ।
जिन्दगीको कुनै मिठो तरङ्ग
अब सोच्नै सक्दिनँ,
बरु गुमनाम भएर दुनियाँसँग
एक फाको जीवन बिताउने अभिलाषा जागेको छ।
मुटुभित्र
घनीभूत भएर बसेको छ अत्यास।
किन डर मात्र लाग्छ अनु मलाई आजभोलि?
अनुभूतिको लहर चुडिएर छिन्नभिन्न भएको छ।
तेरो प्रेमको स्पर्श पनि
बिस्तारै बिर्सिदैछु।
मभित्रका उमङ्गहरू बिलाउँदैछन्,
भताभुङ्ग भएका योजनाहरू
सोच्न नपाउँदै ढलेका छन्।
कालो बादलको बाक्लो बर्कोले
छोपिएको छ मेरो आकाश।
त्यहाँ घामको कुनै सम्भावना देख्दिनँ।
ती दिनहरू सम्झँदा सपना जस्तै लाग्छ,
जहाँ कहिल्यै नफर्कने खुशीहरू थिए।
खुसी लामो समय टिक्दैन,
त्यसैले थन्क्याइदिएको छु तीं पलहरू
अनुभूतिको कन्तुरमा पोको पारेर।
आजभोलि,
बर्खामा उर्लिएको भेलझैं
शब्दका बाछिटाहरू आउँछन्,
जसले मन छियाँछियाँ पारिदिन्छन्।
मभित्र उम्रिएका भावनाका पोथ्रा–पोथ्रीहरू
बेपर्वाह बगाउँदैछ यो झरी।
एक समय,
यो नै थियो मेरो सबैभन्दा प्रिय ऋतु!
तर किन अहिले अत्यास लाग्छ यो झरी?
नदीको बहाव हेरिरहँदा घण्टौं रमाउने म,
किन डर लाग्छ आजभोलि उभिन नदीको किनारमा?
माइली,
सबै बगाइदिने बाढीले
किन बगाउँदैन मेरो हृदयको भित्री व्यथा ?