काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । रास्वपा उच्च स्रोतका अनुसार, सहकारी ठगी अभियोगमा पार्टी सभापति रवि लामिछाने पुनः पक्राउ पर्नुअघि नै उनले राजीनामा दिएकी हुन् । यद्यपि, उनको राजीनामा स्वीकृत भइसकेको छैन ।
पुस्तान्तरण, एक व्यक्ति एक पद, पार्टी पुनःसंरचनालगायत माग पूरा नभएको भन्दै दिएको राजीनामा स्वीकृत गर्न सुमनाले अल्टिमेटम नै दिएकी थिइन् । ‘पार्टीले राजीनामा स्वीकृत नगरे आफैंले घोषणा गर्ने चेतावनीसहित उहाँले दिएको अल्टिमेटम चैत २१ गते बिहीबार सकिएपछि २२ गते शुक्रबार पार्टीका तर्फबाट डिफेन्स गरेर विज्ञप्ति निकाल्नेसम्मको तयारी थियो’, स्रोतले भन्यो, ‘त्यो दिन उच्च अदालतबाट पार्टी सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश आउला भन्ने कसैले कल्पनासमेत गरेका थिएनन्, यो सबैका लागि सरप्राइजिङ थियो ।’
उनका अनुसार, २३ गते शनिबार चितवनमा हुने आमसभालाई ध्यानमा राखेर विज्ञप्ति पनि रोकियो र सुमनालाई पनि होल्ड हुन आग्रह गरिएको थियो । पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी सुमना पूर्वशिक्षामन्त्रीसमेत हुन् । मंसिर २०८० को जलेश्वर बैठकबाट उनी सहमहामन्त्रीमा नियुक्त भएकी थिइन् ।
उनी पार्टी नेतृत्वका पछिल्ला गतिविधिप्रतिसमेत असन्तुष्ट रहेको पनि बताइन्छ । खासगरी सभापति लामिछानेका कारण झेल्नुपरेको प्रश्नबाट उनीसहित केही नेताले आजित महसुस गरेका थिए । लामिछाने पार्टी राजनीतिमा पुनः सक्रिय भएयता उनी पार्टी गतिविधिमा देखिएकी छैनन् । १८ चैतमा धुमधामका साथ लामिछाने पार्टी कार्यालय प्रवेशसँगै भएको केन्द्रीय समिति बैठकमा सुमना सहभागी थिइनन् ।
यसैबीच रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै छ । दिउँसो २ बजेपछि पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकमा सुमनाको राजीनामाबारे पनि छलफल हुने बताइएको छ । उनको राजीनामा स्वीकृत भएमा उनी सांसद तथा पार्टी केन्द्रीय सदस्य रहने छिन् ।