Logo
१६ वैशाख २०८२, मंगलबार

सर्वोच्चले माग्यो गगन थापासँग लिखित जवाफ

अक्षरपाटी
२०८२ वैशाख १६ , मंगलबार ०५:०४ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना आरोपमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग लिखित जवाफ माग गरेको छ।

मंगलबार अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग गरेको हो।

सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलका अनुसार सात दिनभित्र जवाफ पेस गर्न आदेश भएको हो। ‘आफै‌ं वा आफ्ना कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश भएको छ,’ कुईकेलले भने।

आइतबार सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता भएको थियो। अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले मुद्दा दायर गरेका थिए।

संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको भन्दै थापाले केही दिन अघि भाषण गरेका थिए।

संवैधानिक नियुक्ति भएका पदमा समयावधि सकिने बेला भइसकेको तर पनि फैसला नगरिकन राखेको भन्दै अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिलाई लिएर अवहेलना भएको भन्दै मुद्दा दायर भएको हो। अहिले संवैधानिक नियुक्तिको विषयमा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा छ।

नेपाली कांग्रेस