काठमाडौं। नेपाल प्रहरीका एक जना सईलाई ३० हजार रुपैंया घुस लिएवापत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरेको छ।
‘अनुसन्धानको सिलसिलामा प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्काले भारतबाट सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३० हजार रुपैंया घुस लिएको पुष्टी भएको छ’, अख्तियारको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा, ‘निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ३० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय ९क० बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।
रुपन्देहीको प्रहरी चौकी दुर्गौलियामा कार्यरत सई खड्काले भारतबाट रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी सेवाग्राहीसँग घुस लिएको सूचनाको आधारमा अख्तियारले पक्राउ गरेको थियो।