धनगढी । शुक्रबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । बिहीबार केही मिनेट मात्रै बसेर सरेको बैठक आज बस्दै छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै विपक्षीहरूले उनको राजीनामा माग गरिरहेका छन् । विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामासहित भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन समितिको माग गरिरहेका छन् ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र भने राजीनामाबाट केही लचक देखिए पनि रास्वपा र राप्रपा भने राजीनामा, प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन समितिको एजेण्डालाई प्रमुखताका साथ उठाइरहेका छन् । गत १५ जेठ गते संसदमा पेश भएको बजेटबारे छलफल हुनुपर्नेमा विपक्षीहरूको विरोधपछि छलफल अघि बढ्न सकिरहेको छैन ।
आज पनि सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरिहेका छन् । यसअघि पनि निरन्तर छलफल भएको र निष्कर्ष निस्कन नसक्दा संसद बैठक अवरुद्ध भइरहेका छन् ।