Logo
२६ जेठ २०८२, आईतबार

बाजुरामा आगलागी : पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग

अक्षरपाटी
२०८२ जेठ २६ , आईतबार १२:०६ मा प्रकाशित

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–६, बाम्का बजारमा जेठ २३ गते नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई भएको भीषण आगलागीबाट पीडित व्यापारी तथा स्थानीयवासीलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बुढीगंगा नगरपालिकामार्फत पीडितलाई राहत स्वरुप यो रकम उपलब्ध गराउने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगलागीबाट प्रभावित व्यवसायी र परिवारहरूलाई तत्काल सहयोग पुर्‍याउन ४० लाख रुपैयाँ प्रदान गरिने र प्राप्त विवरणअनुसार थप निर्णय लिइने जानकारी दिए। नगरपालिकाले पीडितको विवरण सङ्कलन गरी मापदण्ड तय गरेर राहत वितरण गर्ने छ।

यससँगै, प्रदेश सरकारले मौज्दातमा रहेका १५ वटा ठुलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल पनि तत्काल राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ।

आगलागीमा ४० वटा पसल जलेर करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बाजुरामा आगलागी