Logo
२९ असार २०८२, आईतबार

सुख–दु:ख (कविता)

अक्षरपाटी
२०८२ जेठ ३२ , शनिबार ०९:०६ मा प्रकाशित

० गणेश गाउँले

मलाई,
सुख र दुःख
एउटै कथाका दुई अध्याय लाग्छन्,
जसरी प्रभात र सन्ध्या
एकै आकाशमा पसारिन्छन् :
कहिले सुनौला, कहिले नीलो छायामा।

घामजस्तै न्यानो भएर आउँछ कहिलेकाहीँ सुख,

पानीझैँ चिसिँदै पस्छ आत्मामा दुःख।
तर दुबैको रङ, दुबैको स्पर्श
एक(अर्कालाई अर्थाउन आउँछ।

यदि दुःखको गहिराइ नहुँदो हो त
सुखको उज्यालो
यति मोहक कसरी लाग्थ्यो ?
र यदि सुखको उन्मादले मलजल नदिएको भए
दुःखको बिउ
कसरी बिरुवा हुन्थ्यो जीवनमा ?

साँच्चै,
यी त परस्पर आश्रित छन्:
विपरीत भए पनि
अटुट सम्बन्धमा बाँधिएका,
जुन–सूर्यजस्तै,
उकालो–ओरालीजस्तै,
वसन्त–शिशिरजस्तै।

मैले दुःख भोगेँ,
त्यही पीडामा सुखको सन्देश भेटेँ।
सुख भोगेँ,
त्यही भित्र दुःखको छायाँ देखेँ।
जति नजिक गइयो,
उति गहिरो लाग्छ यो सम्बन्धको रहस्य :
अवर्णनीय, तर स्पर्शयोग्य।

दुःख,
आफै आउँछ:
कहिलेकाहीँ प्रेमको पत्र लिएर।
सुख पनि
आउँछ प्रत्येक बिहान
सूर्यको किरणमा लुकेर ।

मलाई त अब
दुबै देख्दा लाग्छ-
यी जीवनका रंगहरू हुन्
र मेरो कर्म
त्यो क्यानभास हो
जहाँ यी रंगहरू पोतेर चित्र कोर्छु म।

त्यसैले म भन्न सक्छु
म सधैँ सुखमै छु,
किनभने मैले दुःखलाई पनि
सहयात्री स्वीकारेको छु।

ईश्वरजस्तै,
सुख र दुःख पनि
सदा अदृश्य छन्, तर उपस्थित।
जसरी आस्था देखिदैन,
तर अनुभूत हुन्छ।
त्यस्तै, हो त्यस्तै
सुख–दुःखको सीमा बनाउने
हाम्रो नजर हो, हाम्रो नीयत हो।

अन्ततः कुरा एउटै हो-
यो त तिमीले हेर्ने दृष्टिकोण हो
तिमी कुन आँखाले हेर्छौ जीवनलाई ?

छनौटको अवसर पाउँदा
भन के रोज्छौ :
‘सुख कि दुख ?’

(चैतन्य पाठशालाको पवित्र परिसरबाट सम्पूर्ण दिव्य आत्माहरूमा समर्पित)