Logo
४ वैशाख २०८३, शुक्रबार

काँग्रेसको जरा अभियान : सान्दर्भिकता र लक्ष्य

अक्षरपाटी
२०८३ वैशाख २ , बुधबार ०४:०४ मा प्रकाशित

o लेखराज जोशी

नेपालमा लोकतान्त्रिक आन्दोलनको गौरवशाली इतिहास बोकेको नेपाली कांग्रेस आज परिवर्तनको नयाँ मोडमा उभिएको छ। समयसँगै जनताको अपेक्षा बद्लिएको छ, राजनीतिक चेतना परिपक्व भएको छ र नागरिकले अब केवल नारा होइन, व्यवहारिक परिणाम खोज्न थालेका छन्।

यही बदलिँदो परिवेशमा ‘जरा अभियान’ कांग्रेसका लागि केवल संगठन सुदृढीकरणको कार्यक्रम मात्रै नभई—समाजसँग सहकार्य गर्दै पुनः विश्वास आर्जन गर्ने र आफ्नो राजनीतिक चरित्रलाई पुनर्जीवित गर्ने महत्वपूर्ण प्रयासका रूपमा अघि आएको अनुमान गर्न सकिन्छ।

परम्परागत रूपमा जरा अभियानलाई पार्टीको तल्लो तहसम्म संगठन विस्तार गर्ने अभियानका रूपमा मात्रै बुझिएको छ। वडा, टोल र गाउँसम्म संगठनलाई सक्रिय बनाउने, सदस्यता विस्तार गर्ने र चुनावी तयारीलाई मजबुत बनाउने मुख्य लक्ष्य मानिएको छ।

जनताले आफ्नो सामाजिक जीवनमा नेपाली कांग्रेसको दैनिक सहभागिता खोजेका छन्। आफ्ना समस्या र चुनौतीमा ढाडस खोजेका छन्। लोकतान्त्रिक सँस्कृति नेतृत्वदायी भुमिकामा अपनत्व खोजेका छन्।

तर वर्तमान अवस्थामा जनताले उठाएका प्रश्नले यसको परिभाषा र सान्दर्भिकता अझै गहिरो बनाइदिएको छ। तसर्थ यो अभियान कार्यकर्तामा मात्रै सिमित रहनु हुँदैन। जनताले आफ्नो सामाजिक जीवनमा नेपाली कांग्रेसको दैनिक सहभागिता खोजेका छन्। आफ्ना समस्या र चुनौतीमा ढाडस खोजेका छन्। लोकतान्त्रिक सँस्कृति नेतृत्वदायी भुमिकामा अपनत्व खोजेका छन्।

जनताको यही आकांक्षालाई सम्बोधन गर्नु पार्टीको लक्ष्य हो। यही लक्ष्य पुरा गर्न जरा अभियानलाई संगठनभित्र सीमित नराखी समाजसँग प्रत्यक्ष जोडिने अभियानका रूपमा विस्तार गर्न बाध्य बनाएको छ।

आजको सन्दर्भमा जरा अभियानको सान्दर्भिकता यहीँ स्पष्ट हुन्छ। काङ्ग्रेसले पछिल्लो समय भोग्दै आएको चुनौती—जनतासँगको दूरी, कार्यकर्तामा देखिएको निराशा, युवापुस्ताको घट्दो आकर्षण र वैकल्पिक राजनीतिक शक्तिहरूको उदय हो।

यी सबै समस्याको समाधान जरा अभियानमार्फत खोज्न सकिन्छ। जब पार्टी फेरि जरा तहमा पुग्छ, जनताको भावना बुझ्छ र उनीहरूको जीवनसँग प्रत्यक्ष सम्बन्ध गाँस्छ, तब मात्र राजनीतिक विश्वास पुनःस्थापित हुनसक्छ।

जरा अभियानको लक्ष्यलाई अब दुई तहमा बुझ्न आवश्यक छ— संगठनात्मक लक्ष्य र सामाजिक लक्ष्य। संगठनात्मक रूपमा यसले पार्टीको संरचनालाई बलियो बनाउने, कार्यकर्तालाई सक्रिय गराउने र तल्लो तहदेखि नेतृत्व विकास गर्ने उद्देश्य राख्छ। तर यसभन्दा पनि महत्वपूर्ण यसको सामाजिक लक्ष्य हो, जसले यस अभियानलाई विशेष बनाउँछ।

सामाजिक रूपमा जरा अभियानको लक्ष्य स्पष्ट छ— पार्टीलाई जनजीवनसँग जोड्नु। जब कांग्रेसका कार्यकर्ता शिक्षा, स्वास्थ्य, सरसफाइ, विपद् व्यवस्थापन, रोजगारी र सामाजिक समस्यामा प्रत्यक्ष रूपमा सहभागी हुन्छन्, तब पार्टी केवल राजनीतिक संस्था होइन, समाजको साथी बन्न पुग्छ।

सामाजिक रूपमा जरा अभियानको लक्ष्य स्पष्ट छ— पार्टीलाई जनजीवनसँग जोड्नु। जब कांग्रेसका कार्यकर्ता शिक्षा, स्वास्थ्य, सरसफाइ, विपद् व्यवस्थापन, रोजगारी र सामाजिक समस्यामा प्रत्यक्ष रूपमा सहभागी हुन्छन्, तब पार्टी केवल राजनीतिक संस्था होइन, समाजको साथी बन्न पुग्छ।

स्थानीय विद्यालय सुधार, स्वास्थ्य शिविर सञ्चालन, सरसफाइ अभियान, विपद्का बेला राहत तथा उद्धारमा सक्रियता जस्ता सामाजिक कार्यहरूले पार्टीप्रति जनविश्वास निर्माण गर्छन्।

वास्तवमा, आजको राजनीति केवल संसद र सरकारमा मात्रै सीमित छैन। यो त समाजको प्रत्येक तहमा अनुभूत हुनुपर्छ। जनताले अब यस्तो पार्टी चाहिरहेका छन्, जो उनीहरूको हरेक पल आफूसँग देखिन्छ र समस्या समाधानमा अघि बढ्छ। केवल चुनावका बेला मात्रै होइन, सधैं उनीहरूसँगै उभिन्छ। जरा अभियानले यही अपेक्षालाई सम्बोधन गर्ने क्षमता राख्छ।

यस अभियानको अर्को महत्वपूर्ण लक्ष्य नयाँ नेतृत्व विकास गर्नु पनि हो। जब कार्यकर्ता समाजमा सक्रिय हुन्छन्, उनीहरूमा नेतृत्व क्षमता, उत्तरदायित्व र व्यवहारिक अनुभव विकसित हुन्छ। यसले कांग्रेसलाई भविष्यका लागि सक्षम, ऊर्जावान र जनसम्पर्कमा निपुण नेतृत्व प्रदान गर्न सक्छ। विशेषगरी युवापुस्तालाई आकर्षित गर्न सामाजिक उत्तरदायित्वमा आधारित यस्तो अभियान अत्यन्त प्रभावकारी हुन सक्छ।

तर जरा अभियानको सफलताका लागि चुनौतीहरू पनि कम छैनन्। गुटबन्दी, औपचारिकतामा सीमित हुने हालसम्मको प्रवृत्ति, स्रोतको अभाव र स्थानीय नेतृत्वको अस्पष्टता यसका प्रमुख अवरोध हुन्। यदि यो अभियान केवल कार्यक्रम उद्घाटन, फोटो खिच्ने र कागजी प्रतिवेदनमा सीमित भयो भने यसको कुनै अर्थ रहने छैन। यसको सफलताका लागि इमानदारीपूर्वक कार्यान्वयन, स्पष्ट योजना र निरन्तरता अनिवार्य छ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको सोचमा परिवर्तन हो। राजनीतिलाई केवल सत्ता प्राप्तिको माध्यमका रूपमा हेर्ने पुरानो दृष्टिकोणबाट बाहिर निस्कन आवश्यक छ। ‘सेवा नै राजनीति हो’ भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्न सकियो भने मात्र जरा अभियान सफल हुन्छ।

जब पार्टीका कार्यकर्ता समाजसेवामा गर्व गर्न थाल्छन् र नेताहरू जनताप्रति उत्तरदायी बन्न थाल्छन्, तब मात्र काङ्ग्रेसले आफ्नो ऐतिहासिक छवि पुनःस्थापित गर्न सक्छ। अत: ‘जरा अभियान’ नेपाली काङ्ग्रेसका लागि एउटा ऐतिहासिक अवसर हो।

जब पार्टीका कार्यकर्ता समाजसेवामा गर्व गर्न थाल्छन् र नेताहरू जनताप्रति उत्तरदायी बन्न थाल्छन्, तब मात्र काङ्ग्रेसले आफ्नो ऐतिहासिक छवि पुनःस्थापित गर्न सक्छ।

अत: ‘जरा अभियान’ नेपाली काङ्ग्रेसका लागि एउटा ऐतिहासिक अवसर हो। आफ्नो जरो बलियो बनाउने, जनतासँगको सम्बन्ध पुनर्जीवित गर्ने र भविष्यको राजनीति निर्माण गर्ने अवसर पनि हो।

जरो बलियो भयो भने मात्र वृक्ष दिगो हुन्छ। यदि काङ्ग्रेसले यो अभियानलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्दै समाजसँगै बाँच्ने र सेवा गर्ने बाटो रोज्यो भने, यसले पार्टीलाई पुनः जनताको मनमा स्थापित गराउनेछ। अन्यथा, यो केवल अर्को नारा बनेर सीमित हुने खतरा रहन्छ।

यसर्थ, जरा अभियानको वास्तविक सफलता नेपाली कांग्रेसले आफूमा ल्याउने परिवर्तनमा निर्भर छ। काङ्ग्रेसले आफूलाई कति हदसम्म परिवर्तन गर्न सक्छ, समाजसँग कति नजिक पुग्न सक्छ र जनताको विश्वास पुनः जित्न कति इमानदार प्रयास गर्छ। यही नै यसको सान्दर्भिकता हो र जनताको सच्चा सारथि भएर पुनः स्थापित हुनु नै यसको मूल लक्ष्य हो ।

जरा अभियान नेपाली कांग्रेस लेखराज जाेशी

ट्रेन्डिङ ( साप्ताहिक )