कैलाली । साविक खैराला गाविसमा रहेको ऐतिहासिक गर्भा दरबारको जमिन हिनामिना गरेर प्रदेश सरकारको पर्यटन मन्त्रालयले पर्खाल लगाएकोबारे पालीका बेखबर भएको समाचार अक्षरपाटीले सार्वजनिक गरेको केही दिन नहुँदै अर्को लापरवाही बाहिरिएको छ।
साविक खैराला अर्थात चुरे ४ का जनताले यो जेठभित्रै घरघरमा बिजुली बाल्ने सपना देखेका थिए।
उनीहरुलाई वडा, विद्धुत कार्यालय र ठेकेदार कम्पनीले देखाइएको सपनाअनुसार ऋणधन गरेर पनि घरघरमा बिजुली बाल्न आवश्यक वाइरिङ गरिसकेका छन्।
वडा कार्यालयका अनुसार नेपाल विद्धुत प्राधिकरणको मुसुरिया कार्यालयले जेठ १५ सम्म मिटर जडान गर्ने भनेको थियो। सोहीअनुसार चुरे ४ मा पर्ने खैराला क्षेत्रमा जेठ पहिलो साता सूचना जारी गर्दै करेन्ट परीक्षण समेत गरिएयो।
बिडम्बना परीक्षणको तीन साता पुग्दा पनि घरघरमा बिद्युत जडान त भएन, बरु तारमा छोडिएको करेन्ट मानव जीवन र पशुचौपायाका लागि जोखिम सावित भएको छ।
बुधबार अर्थात जेठ २८ गतेका दिन पोलका तारमा छोडिएको करेन्ट लागेर चुरे ४ निवासी ३१ वर्षीय खगेन्द्र तारामी मगर सिकिस्त घाइते बनेका छन्।
शरीरको ३० प्रतिशत भाग जलेको उनको कर्तिपुर हस्पिटलमा उपचार भइरहेको छ।
बिजुली बाल्ने सपना पुरा नहुँदै उनी कामबाट घर फर्कने क्रममा उनी बाटोमा छरिएको तारमा रहेको करेन्ट लागेर घाइते भएका हुन्।
समयमै बिद्युत वितरण हुन नसकेकोबारे आफूहरुलाई खासै जानकारी नभएको चुरे ४ का वडाध्यक्ष अध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले बताए ।
विद्युत जडानबारे फिल्ड कार्यालय मसुरियाले धनगढीलाई देखाउने, धनगढीले प्रादेशिक कार्यालय अत्तरियालाई देखाउने गरेको उनको भनाइ छ।
जनप्रतिनिधि भएर आफ्नो वडामा जनताको जीउधनकै क्षति हुनेअवस्थामा पनि चासो नलिएकोबारे स्थानीय रुष्ट छन्।
विद्युत कहिले वितरण हुन्छ ? जनधनमा भएको क्षतिको जिम्म कसले लिने ? भनि अक्षरपाटीले राखेको जिज्ञासामा नेपाल विद्यतु प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमखु मिथिलेश कुमार गोइवार भने चाँडै सुरु हुने जवाफ दिन्छन् ।
उनले भने, ‘अबको एक, डेढ सातामै हामी बिद्युत वितरण सुरु गर्छौँ, वितरण कार्य सम्मपन्न हुन समय भने लाग्न सक्छ ।’
अलपत्र छोडिएर लागेको करेन्टका कारण घाइते भएका खगेन्द्र तारामी मगरको उपचारको जिम्मा भने ठेकेदार कम्पनीले लिने धनगढी वितरण केन्द्रका प्रमुख गोइवारले बताए।
उनले भने, ‘ठेकेदार कम्पनीले हस्तान्तरण गरिसकेको छैन । त्यस क्षेत्रको विद्युतलाईन विस्तारको ठेका नेपाल विद्यतु प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले गरेको हो। घटना हुनु दुर्भाग्य हो, पीडितको उपचारको सम्पूर्ण ठेकेदार कम्पनीले लिने सहमति तीनवटैपक्ष बीच भएको छ।’
करेन्ट लागेर घाइते भएका मगरको उपचारको सम्पूर्ण जिम्मा लिनभन्दै नेपाली काँग्रेसका स्थानीय नेता हेम बिष्टले पहल गरेका थिए। उनले पनि विद्युत कार्यालय, पीडित र ठेकेदार कम्पनीबीच उपचारको सम्पूर्ण व्यवस्था ठेकेदार कम्पनीले गर्ने सम्झौता भएको बताए।
विद्युत वितरणमा भएको ढिलासुस्ती र त्यसले सिर्जना गरेको जोखिमबारे चुरेपालिका अध्यक्ष चक्रबहादुर वोगटीले भने कतै चासो व्यक्त नगरेको स्थानीयको गुनासो छ।