काठमाडौं । ललितपुरको ग्वार्को स्थित ओभरपासमा आजदेखि (शुक्रवार) सवारी गुड्न पाउने भएका छन् ।
चक्रपथको ग्वार्को–सातदोबाटो खण्डमा निर्माण भएको ओभरपासको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेर ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिनेछ।
१२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ ।
मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागले जानकारी दिएको छ ।
ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ।
यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोबाट र्याम बनाइएको छ।
चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाएर माथि उठाइ ओभरपास बनाइएको हो ।
ग्वार्को चोकमा बनेको पुल मुनिबाट मंगलबजार–इमाडोल जाने सवारीसाधन निर्वाध चल्न सक्ने गरी ओभरपास बनाइएको छ।
ओभरपासले यस क्षेत्रको सवारी आवागमन सहज हुने र दुर्घटनाको जोखिम कम हुने विश्वास गरिएको छ।