Logo
११ असार २०८२, बुधबार

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित

अक्षरपाटी
२०८२ असार ११ , बुधबार ११:०६ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् ।

पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी विशेष अदालत पुगेका हुन् । नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए ।

‘अदालत उपस्थित हुन पाउँ भन्ने उहाँको निवेदन हामीले विशेष अदालतमा दर्ता गरिसकेका छौं,’ नेपालका कानुन व्यवसायीले भने, ‘त्यही निवेदनका आधारमा इजलासमा मुद्दाको पेसी तोकिन्छ । अनि उहाँले बयान गर्नुहुन्छ ।’

बुधबार सुरु हुने बयान छिटोछरितो रुपमा टुंग्याउने नेपाल निकट कानुन व्यवसायीहरूको योजना छ । बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ । जहाँ नेपालका कानुन व्यसायीहरूले उनलाई साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने जिकिर गर्नेछन् ।

सरकारी वकिलले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको प्रतिरक्षा गर्दै नेपाललाई थुनामा राख्नुपर्ने तर्क गर्नेछन् । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

आरोप यस्तो छ..

पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्‍कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।

भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइँदैन । हदबन्दी छुटमा पाएको जग्गा सरकारले नै बिक्री गर्न अनुमती दिएपछि प्रश्न उठेको थियो ।

भारतको पतञ्जलि योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो । हदबन्दीभित्रको जग्गाले नपुग्ने भएपछि उसले सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो ।

१८ माघ २०६६ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्‍ले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो । त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनेको थियो । कतिपय जग्गा त्यसभन्दा अघि नै खरिद भएको थियो । जग्गा किनेको केही महिनामा नै उसले जग्गा बेच्ने निर्णय गर्‍यो ।

कानुनतः हदबन्दी छुटको जग्गा बेच्न मिल्दैन, कम्पनी विघटन हुँदा सहुलियतको जग्गा स्वतः सरकारीकरण हुने कानुनी व्यवस्था छ । तर २०६६ सालमै तत्कालीन सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो ।

एकीकृत समाजवादी माधवकुमार नेपाल