धनगढी । भारी वर्षाका कारण सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका दर्जनौँ बस्ती डुबानमा परेका छन् । धनगढी उपमहानगरको बजार क्षेत्रका बस्ती सबैभन्दा बढी प्रभावित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र, शिवनगर, क्याम्पस रोड, रातोपुल, हसनपुर, तारानगर, शिक्षा टोल, श्रीलंका लगायतका बस्तीका कयौँ घरमा पानी पसेको छ ।
यस्तै, निरन्तरको वर्षाका कारण धनगढी उपमहानगरको मुख्य सडक र आधा दर्जन भित्री सडक पनि जलमग्न भएका छन् । मुख्य सडकमा रहेका पसलहरूमा पानी पसेको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले धनगढी बजारको वरिपरि भएर बग्ने मोहना नदीमा पनि पानीको बहाब बढ्दै गएको बताए । ‘पानी रोकिएको छैन,’ उनले भने, ‘मोहना नदीमा पनि पानीको सतह निरन्तर बढिरहेको छ । तटीय क्षेत्रमा जोखिम बढेको छ ।
यस्तै, निरन्तरको वर्षाले कतिपय विद्यालय पनि डुबानमा परेपछि बिदा दिइएको छ ।
बस्ती डुबानमा भारी वर्षा