धनगढी। नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई मन्त्री नियुक्त भएको साढे एक महिना नपुग्दै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आक्रोसित भएका छन्।
गत जेठ ४ मा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त भएका रामेश्वरलाई मुख्यमन्त्री शाहले हटाएर दादागिरी देखाएको संरक्षक चौधरीले बताएका छन्।
मन्त्री नियुक्त भएको महिना दिन पुग्नु एक दिन अगावै असार ३ गते पनि मुख्यमन्त्री शाहले चौधरीलाई मन्त्री पदबाट राजीनामा दिन भनेका थिए। तर मन्त्री चौधरीले राजीनामा नदिने अडान लिँदै आएका थिए।
आफ्नो पार्टीबाट मन्त्री बनेका चौधरीलाई हटाएपछि संरक्षक रेशम चौधरीले आफूहरु अब प्रतिपक्षमा बस्ने बताएका छन्।
उनले भनेका छन्, ‘यो गठबन्धन प्रदेशमा मात्र सीमित होइन। हामीले संघदेखि प्रदेशसम्म सरकारसँग गठबन्धन गरेका छौं। तर, मुख्यमन्त्रीको दादागिरी शैलीले हाम्रा मन्त्रीलाई बर्खास्त गरियो। पार्टीलाई यो सैह्य हुँदैन। हामी प्रतिपक्षीमा जान्छौं,’ संरक्षक चौधरीले भने।
संघीय सरकारबाट पनि आफूहरुले दिएको समर्थन फिर्ता लिने उनले बताए। ‘मुख्यमन्त्रीको यो शैली ठीक भएन। हामी संघबाट पनि सरकारबाट बाहिरिन्छौं। हाम्रो पार्टीबाट जानुभएका राज्यमन्त्रीले राजीनामा गर्नुहुन्छ,’ उनले भने।
कमलबहादुर शाह नागरिक उन्मुक्ति पार्टी रेशम चाैधरी सुदूरपश्चिम प्रदेश