Logo
२० असार २०८२, शुक्रबार

सरकारी कर्मचारीमा समर्पणको अभाव छ : बद्रि पाण्डे

अक्षरपाटी
२०८२ असार २० , शुक्रबार १२:०७ मा प्रकाशित

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा यस्तो बताएका हुन्।

बैठकमा सांसदहरूले नेपाल एयरलाइन्सको कार्यसम्पादनप्रति प्रश्न उठाउँदै निजी एयरलाइन्सहरू कम जनशक्तिमा नाफामा चलिरहेका बेला नेपाल एयरलाइन्स बढी जनशक्तिसहित पनि घाटामा जानुको कारणबारे जिज्ञासा राखेका थिए।

प्रतिक्रिया दिंदै मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको काम समेत गर्ने भएकाले बढी जनशक्ति आवश्यक पर्ने बताएका हुन्। उनले नेपाल एयरलाइन्सले केवल आफ्नै मात्र नभई हिमालय एयरलाइन्ससहित अन्य धेरै एयरलाइन्सहरूको ग्राउण्ड ह्याण्डलिङ सेवा उपलब्ध गराउने भएकाले थप बोझ परेको स्पष्ट पारे।

उनले भने, “जस्तो हाम्रो यहीँ टिआइएमा ९५ लाख यात्रु ओहोरदोहोर भए। यस्तो अवस्था सम्हाल्न ठूलो जनशक्ति चाहिन्छ। तर सरकारी सेवामा काम गर्नेहरूले निजी क्षेत्रजस्तो समर्पणका साथ काम नगर्ने प्रवृत्ति देखिन्छ। यो सुशासनकै पाटो हो। सुशासनमा सुधार गर्नुपर्ने नै पाटो हो।”

मन्त्री पाण्डेले नेपाल एयरलाइन्सको कर्मचारी सेवा तथा शर्त सम्बन्धी विनियमावली तयार हुँदै गरेको जानकारी दिँदै आवश्यकता भन्दा बढी जनशक्ति नराख्न सरकार प्रतिबद्ध रहेको बताए। “अहिले सरकार नेपाल एयरलाइन्समा अनावश्यक जनशक्ति नराख्न गृहकार्य गरिरहेको छ,” उनले भने।

बद्रि पाण्डे