Logo
२१ असार २०८२, शनिबार

नागरिक उन्मुक्ति पार्टीले छोड्यो सरकार, किन भयाे खटपट

अक्षरपाटी
२०८२ असार २० , शुक्रबार १०:०७ मा प्रकाशित

नाउपा अब प्रतिपक्षमा

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, वन तथा वातावरणमन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरिदिएको झोँकमा नाउपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

आज बसेको नाउपाको प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको दलका नेता धनश्याम चौधरीले बताए।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि नागरिक उन्मुक्ति पार्टी अब प्रदेश र संघमा प्रतिपक्षमा बस्ने बताइसकेकी थिइन्।

समर्थन फिर्ता लिए पनि ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन चाहिन्छ । सरकारको नेतृत्व गरिरहेको काँग्रेसका १८ र सत्ता साझेदार एमालेका ११ प्रदेशसभा सदस्य छन्।

कहाँबाट सुरु भयो खटपट

वन मन्त्री रामेश्वर चौधरीसँग मुख्यमन्त्री शाहको असार ३ गते नै खटपट सुरु भएको बताइन्छ।

जेठ ४ मा मन्त्री बनेका चौधरीले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गरेको विषयमै मुख्यमन्त्री शाहले उनलाई हटाउन खोजेको दाबी चौधरीको छ ।

‘त्यही विषयलाई लिएर मन्त्रीजीको राजीनामा मागिएको हो, सत्तारुढ दलहरुकै सहमतिमा नियुक्त गरिएको हो, राजीनामा दिन्न भन्ने जवाफ फर्काएँ,’ मन्त्री चौधरीले बताएका छन्।

खप्तडमा कार्यकारी निर्देशक नियुक्तिलाई लिएर मुख्यमन्त्रीलाई ‘माथि’बाटै समस्या भएको जानकारहरु बताउँछन्। आफै समस्यामा पर्ने भएपछि उनले मन्त्रीलाई नै हटाएको स्रोतको दाबी छ।

तर मुख्यमन्त्री शाहले भने मन्त्रीले अटेरी गरेको र विभिन्न योजनालगायतमा अनावश्यक भूमिका खेलेको आरोप लगाउँदै आएका छन्।

नागरिक उन्मुक्ति पार्टीले हालै सार्वजनिक सुदूरपश्चि सरकारको बजेटमा पनि रोजीछाडी गरेको आरोप भने लाग्दै आएको छ।

कमलबहादुर शाह नागरिक उन्मुक्ति पार्टी रेशम चाैधरी सुदूरपश्चिम प्रदेश सरकार