प्रेरणाको स्रोत !

अक्षरपाटी
२०८२ असार २१ , शनिबार ०९:०७ मा प्रकाशित

० गणेश गाउँले

म,
इतिहासको गहिराइमा गर्व गर्ने,
वर्तमानको सत्यसँग हातेमालो गर्ने,
र भविष्यको सम्भावनामा उज्यालो खोज्ने
एक जागरूक आत्मा।

म,
संघर्षका प्रत्येक खोपिल्टोमा मुस्कान खोज्ने,
संकटलाई पाठशाला ठान्ने,
र आँसुमा अद्वितीय आत्मबल देख्ने यात्री।

अभाव, पीडा, विभेद, विकृति
यीँ मेरा शत्रु थिएनन्,
यीँ त मेरा अघोषित गुरू थिए।
यिनकै आँशुहरूले लेखे मेरा संकल्पहरू।
यिनकै छायाँमा उम्रियो आत्मज्ञानको बिरुवा।

कसैले गरेको उपेक्षा,
तिरस्कार, दुर्वचन
सवै बने मेरा प्रेरणाका दीप।

कसैले बन्द गर्यो एक ढोका,
तर खोलिदियो अन्तहीन सँघर्षमार्ग
जहाँ मैले आफैलाई भेटें-
न झुकेको, न रुकेको, न थाकेको।

नदीले सिकायो, गतिशिलताको दर्शन
वायुले सिकायो, वैभवताको विराटता
प्रकाशले सिकायो, प्राक्रमको पाठ
धर्तिले सिकायो, धैर्यताको धारण
आकाशले सिकायो, अनन्त आशावादिता
प्रकृति नै बन्यो मेरो प्रेरक पाठशाला

र,
मैले रोजेँ भिरको गोरेटो,
जहाँ पाइला सबैले होइन,
वीरहरूले मात्रै टेकेको हुन्छ।

मैले बुझेँ,
विवेकको उज्यालो सहजतमा होइन,
विपद्को अँध्यारोमा जन्मिन्छ।

आफ्नो खुट्टाले नापिएको उकालो,
आफ्नै आँसुले पखालेको बाटो,
आफ्नै संकल्पले सृजित शक्ति
यी नै त हुन् मेरो प्रेरणाका शिला।

आज म खुलेर भन्छु स्
म हुँ, प्रेरणाको स्रोत,
कसैको प्रवाहमा प्रभावित नहुने ,
आफ्नै स्वभावमा बाँच्न सक्ने।

म हुँ,
भत्किएको ईँटबाट महल बनाउने आत्मशक्ति।

म हुँ,
सम्भावनाको यात्रामा नथाक्ने एक सपना।

हो,
म आफै,
मेरो आत्मा,
मेरो संकल्प,
मेरो यात्रा
मेरो प्रेरणाको स्रोत,
म आफै हुँ
बस म आफै।

गणेश गाउँले गणेश प्रसाद जोशी चैतन्य पाठशाला