Logo
९ भदौ २०८२, सोमबार

घर बनाउन दिएको ऋणले ‘बेघर’ बनाउँदै एनआईसी एसिया बैंक

अक्षरपाटी
२०८२ असार २२ , आईतबार १०:०७ मा प्रकाशित

राष्ट बैंक पनि रमिते मात्रै !

  • कुनै एउटा अंकमा सम्झौता गरेर महिना वा वर्षैपिच्छे बैंकले गर्ने ऋणको ब्याज बृद्धिमा नेपाल राष्ट्र बैंक पनि रमिते बाहेक नियामक बन्न नसक्नु भने सोचनीय विषय हो।
  • एनआईसी एसिया यस्तो बैंकमा दरिएको छ, जुन आम सेवाग्राहीलाई सेवा दिने नाममा यो र त्यो बहानामा असुलेर एकु घिमिरेजस्तै घर न घाटको बनाउन तम्तयार देखिन्छ ।
  • एनआईसी एसियाले टाँट पल्टाएका तमामौँ उदाहरणहरु विगतदेखि नै हामीसँग समेत सुरक्षित छन्

काठमाडौं । आफूलाई एनआईसी एसिया बैंकले आधिकारिक रुपमै लुटेको लामो पीडायुक्त फेहरिस्त सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि अक्षरपाटीले एकु घिमिरेसँग सम्पर्क गर्यो ।

एउटा बाटो गाउँ सम्म, नौमतीको नौलो सरगम, यती साथीजस्ता कृति लेखिसकेका साहित्यकारको वृतमा पनि उत्तिकै परिचित घिमिरेको कुरा बनावटी होला भन्ने शंका गर्न पनि सकिएन ।

उनिसँग सम्पर्क गर्दा भने, ‘हो सर, म लुटिएकै हो, जागिर नभएको भए दुर्गा प्रसाईँले भने झैँ आजसम्म डोरी बोकेर हिँडिसकेको हुन्थेँ तर यो बैंकले ममाथि गरेको लुट बैधानिक लुट हो।’

कुनै एउटा अंकमा सम्झौता गरेर महिना वा वर्षैपिच्छे बैंकले गर्ने ऋणको ब्याज बृद्धिमा नेपाल राष्ट्र बैंक पनि रमिते बाहेक नियामक बन्न नसक्नु भने सोचनीय विषय हो।

एकु घिमिरेकै स्टाटसमा राष्ट्र बैंक कै प्रतिनिधि ज्योती जंगमले लेखेकीछिन्,’बाणिज्य बैंकले कर्जामा लागु गर्ने ब्याजदर बैंककै आधार दरमा आधारित हुन्छ । त्यसमा थप्ने प्रिमियम दर भने बैंकले परिवर्तन गर्न मिल्दैन । यी क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले दिने कर्जामा नेपाल राष्ट्र बैंकले ब्याजदर तोक्दैन। अहिलेसम्म लघुवित्त संस्थाले लिने ब्याजदरको माथिल्लो दर १५ प्रतिशत चाहिँ राष्ट्र बैंकको नियमनबाट तय गरिने गरिएको छ।’

आफूले नियमन र अनुगम गर्नुपर्ने बैंकहरुले नै आधिकारिक लुट गरेर आम जनतालाई घर न घाटको हुने अवस्था सिर्जना गर्दा पनि रमिते बन्ने केन्द्रीय बैंक आँखिर कुन उद्देश्यका लागि त ? भन्ने प्रश्न यस्ले जन्माएको छ ।

उसो त निजी बैंकहरु खातामा एक हजार रुपैयाँ हुनेहरुबाट सेमत वर्षमा अनलाईन बैंकिङ, एटिएम, सेवा शुल्कलगायतका नाममा वार्षिक १२ सयभन्दा बढी असुल्न तम्तयार भएको सत्य कतैबाट लुकेको छैन।

तर एनआईसी एसिया यस्तो बैंकमा दरिएको छ, जुन आम सेवाग्राहीलाई सेवा दिने नाममा यो र त्यो बहानामा असुलेर एकु घिमिरेजस्तै घर न घाटको बनाउन तम्तयार देखिन्छ ।

एनआईसी एसियाले टाँट पल्टाएका तमामौँ उदाहरणहरु विगतदेखि नै हामीसँग समेत सुरक्षित छन् ।

एकु घिमिरेले १० वर्षका लागि ९ दशमलव ५ प्रतिशत व्याजमा लिएको १० लाख ऋण झुक्याएर १२ वर्षका लागि बनाइएको कुरा आफ्नो सामाजिक सञ्जालको बकपत्रमा उल्लेख गरेका छन्।

त्यो मात्र होइन उनले १० लाख सावाँको साँटो यो १० वर्षमा १२ लाख ९० हजारा ६५४ रुपैयाँ १२ पैसा तिरिसक्दा पनि उनको १० लाख सावाँ जम्मा २ लाख ३२ हजार २६४ मात्रै घटेको फेहरिस्त सार्वजनिक गरेका छन्।

अर्को अचम्म लाग्दो कुरा त के भने बैंक आफैले २ वर्ष बढाएर २०८४ चैतमा सकिने भनेको ऋणको किस्ता अब २०९० साल चैतमा मात्रै सकिने बैंकले उल्लेख गरेको छ ।

९ दशमलव ५ प्रतिशत ब्याज कबोल गरिएको ऋण बैंकले ऋणी एकु घिमिरेलाई जानकारी नै नगराई १५ दशमलव ११ प्रतिशतसम्म असुलेर उनको साँवा ऋण जहाँको त्यहीँजस्तो बनाएको गुनासो उनले सामाजिक सञ्जालमा पाखेका छन् ।

आफ्नो ऋणको अवस्था बुझ्न हालै बैंकमा पुगेका एकुले ऋणको अवस्था बुझ्दा आँतै सुकेपछि पानी पिएर आफूले ऋण लिएको धरान शाखाका लोन अधिकृत सुनिल राईलाई सोधे-‘१० लाख लिएको नौ वर्षमा १३ जति तिर्दा पनि अझै आठ लाखजस्तो ऋण र त्यसको व्याज बाँकी नै छ भनेर ग्राहकलाई भन्नुपर्दा हजुरको मनमा सामान्य नागरिक भएर सोच्दा कस्तो भाव आउँछ ? मजै आउँ छ कि हामी आधिकारिक लाइसेन्स प्राप्त लुटाहा साहुका सन्तान हौँ भनेर गर्व लाग्छ ? उनले अन्त्यमा भनेः पीर लाग्छ ?’

आफ्नै कर्मचारी पनि नाजवाफ हुने र कर्मचारीकै मन दुख्ने कर्ममा एनआईसी एसिया बैंक भने वर्षौँदेखि तल्लिन भएको कुरा कतैबाट छिपेको छैन। भलै राष्ट्र बैंकले यसमा आँखा किन न चिम्लियोस !

एकु कुमारको पीडादायी बकपत्र-

बैंक एक आधिकारिक लुटाहा साहु रहेछ १ हामीले २०७२ चैत्र २२ गते सोमबार एनआईसी एसिया बैंकबाट रू १० लाख ऋण ९.५५ प्रतिशत व्याजदरमा (कुरामा १० वर्षलाई अनि कागजमा चाहिं १२ वर्षलाई बनाएछ्न्) किनकि मेरो आम्दामी अनुसार तिर्नसक्ने किस्ता बनाउनु पर्थ्यो अरे !)

घर धितो राखी ऋण लिएकका थियौं । अस्ति असार १६ गते गएर बुझ्दा त हाम्रो जम्मा २,३२,२६४.४० मात्रै सावाँ घटेयो अरे १ तबसम्ममा व्याजमात्रै रू १० लाख ५८ हजार ३८९.७२ तिरिसकेछौं १ अब साउँ तिर्न रू ७ लाख ६७ हजार ७३५.६ बाँकी रहेछ १
रू १० लाख लिएकोमा आजसम्म हामीले रू १२ लाख ९० हजार ६५४.१२ बैंकलाई तिरिसकेछौं १

अझ गज्जब लागेको कुरा के छ भने हामीले बुझे अनुसार २०८२ चैत्रमा सकिने किस्ता कागज अनुसार २०८४ चैत्रमा मात्रै सकिने भएकोसम्म ठिकै हो तर बैंकले सो ऋणको किस्ता २०९० को चैत्रमा मात्रै सकिने बनाएछ ।

त्यसको कारण के अरे भने ऋण लिएको केही महिनापछि व्यजदर बढ्यो अरे १ कति कति भयो त भनेको नौ महिनापछि १०.५ प्रतिशत, त्यसको २ महिनापछि११.५ प्रतिशत, लगत्तै अर्को महिना १२.५ प्रतिशत, त्यसको तीन महिनापछि १३ प्रतिशत, फेरि त्यसको २ महिनापछि १३.४९ प्रतिशत गर्दै गर्दै यो आधिकारिक साहुले त व्याजदर १५.११ प्रतिशत सम्म असुलेको रिपोर्ट दियो !

मैले बीबीएस सकेर बैंकको लोकसेवा तयारी गर्दै गरेकी मेरी छोरीलाई पनि सोधपुछ गर्दा लिएर गएको थिएँ । उनले जानकारी नै नगरी कसरी यतिसम्म गर्न सक्नुभयो भनेर उक्त बैंकको धरान शाखाका लोन अधिकृत सुनिल राईलाई सोधिन् ।

राम्रा ॠणी मतलब खुरुखुरु किस्ता समयमै तिर्नेलाई बैंकले जानकारी गराउने चलन छैन रे १ हामीले खाइ(नखाइ गरेर समयमै किस्ता तिरी राम्रो ॠणी भएको इनाम यो दिएको रहेछ बैंकले । म केही नबोली पानी पिउन तल झरें (लोन शाखा दोश्रो तलामा रहेछ ।)

पानी पिएर माथि गएँ । मैले अधिकृतज्यूलाई सोधें- ‘१० लाख लिएको नौ वर्षमा १३ लाख जति तिर्दा पनि अझै आठ लाखको नजिक ऋण र त्यसको व्याज बाँकी नै छ भनेर ग्राहकलाई भन्नुपर्दा हजुरको मनमा सामान्य नागरिक भएर सोच्दा कस्तो भाव आउँछ? मजै आउँछ कि हामी आधिकारिक लुटाहा साहुका सन्तान हौं भनेर गर्व लाग्छ ?’

उनी पाकेको खोर्सानी झैं भए, टार्न खोजे तर मैले उत्तर खोजिरहें । अन्त्यमा भने:
‘पीर लाग्छ।’

घर आएर सम्झिएँ अनि छलफल पनि भए । बैंक त लुटको खेती पो गर्दै रहेछ, हैन ?
अस्तिसम्म लिएको ऋण नतिर्ने दुर्गा प्रसाईंको कुरै सुन्न मन लाग्थेनँ तर बैंकले लुटेका छ्न् भन्ने उनको बोली त सत्य नै रहेछ, हैन र ? (यसो भनेर हामी यो ऋण नतिर्ने भन्ने हैन, बरू चाँडै तिर्ने योजना बनाउँदैछौं ।)

त्यो दिन पनि उक्त बैंकले हामीलाई १०.२३ प्रशित व्याज असुल्दै गरेको रिपोर्ट दियो ! हामीले गरेको कागजमा ९.५ प्रतिशत मात्रै छ ।

संसारकै बैंकहरूको नियम यस्तै हो? नेपालका सबैं बैंकको धन्दा यस्तै हो कि चर्चित बैंकले मलाई ठगेको होला ?

व्याजदर राष्ट्र बैंकले नै बढाएको अरे, कहिले कति कति र किन बढाएको भन्ने बुझ्ने ठाउँ छ कतै ? मलाई चर्चित बैंकले लिएको व्यजदर सबै सही नै हो त? कि…? यसको उत्तर दिने निकाय पनि छ ?

पञ्चायत कालमा साहुले ब्याजको पनि ब्याज लियो भनेर हामी साना हुँदा आएको प्रजातान्त्र पछि तीँ साहुका तमासुक च्यात्ने नेताहरू अहिले सत्तामा हुनुहुन्छ, बैंकको यो कदम तिनै साहुको झैं भएन र ? राजनीतिक दल अनि तिनका नेता र कार्यकर्ताहरूको यसबारे के धारणा, नीति र विचार छ ? कि यसबारे नबोलेरै बस्ने हो ?

जनमतले अघि बढ्नुपर्ने दल र नेताले जनताको ढाड भाँच्ने यस्तो कुरीतिका बारे बोल्नु पर्दैन होला ? कि थाहै छैन ? थाहा छैन भने छोड राजनीति, थाहा छ भने किन नबोलेका ?

नेपालमा लोन लिएर केही गर्ने वातावरण रहेछ त ? अनि मान्छे विदेश गए भनेर रोइलो गरेर मात्रै थामिने अवस्था छ त ?

मेरो त थोरै नै ऋण हो, धेरै हुनेको त सक्ने रहेनछ त ?
हैट !

२०६८ सालको चैत्रमा पनि हामीले अहिले घर भएको जग्गा धितो राखी सोही बैंकबाट रू ५ लाख ऋण लिएर घर बनाएका थियौं । त्यो बेला व्याजदर १३ प्रतिशत भन्ने थियो ।

कसैले नपत्याउने सानो आम्दानी भएको हामीलाई पत्याएर उक्त बैंकले ठुलै सहयोग गरेको थियो । त्यही पैसामा आफन्त र हितैसीहरूको रकम थपेर अहिलेको हाम्रो घर बनेको हो ।

त्यसैले हामीले दोश्रो पटक पनि सोही बैंक रोजेका थियौं । मलाई सो नामको बैंक नजिक पुग्दा (यो जानकारी पाउनु भन्दा अघिसम्म) मन्दिर अघि पुगेको जस्तो लाग्थ्यो ।

कहिले आफ्नै बुवाको अघि पुगे झैं पनि लाग्थ्यो । तर त्यो विस्वास पनि धरमर धरमर भयो । अब यो ऋण तिरेर उक्त बैकको खाता समेत बन्द गर्ने झोक चलेको छ ।

मेरा जिज्ञासाका उत्तर पक्कै आउलान् । यो मेरो रोइलो हैन खबरदारी र जानकारी हो। म प्रणालीमा पसेरै लुटिएछु, हजुरहरू विचार गर्नुहोला ।🙏

ऋणको नाममा लुट एकु घिमिरे एनआईसी एशिया बैंक नेपाल राष्ट्र बैंक