Logo
२५ असार २०८२, बुधबार

भाषा बुझ्न समस्या छ – सांसद गौतमको प्रधानमन्त्री सचिवालयलाई कटाक्ष, सुनिताको आपत्ति

अक्षरपाटी
२०८२ असार २५ , बुधबार ०२:०७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयलाई भाषाको समस्या रहेको बताएकी छन् । आजको प्रतिनिधि सभाको बैठकमा उनले हिजो बोलेको वाक्य दोहोर्याउँदै राम्रोसँग बुझ्न सचेत गराइन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन गएर कोही फर्किएनन्’ भन्नु र ‘प्रधानमन्त्री गएको कार्यक्रममा गएर कोही फर्किएनन्’ भन्नुमा धेरै अन्तर रहेको उनको भनाइ छ ।

‘मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन । राम्रोसँग कान खोलेर सुन्नुहोस्’, गौतमले भनिन्, ‘हिजो बोलेको वाक्य पुनः दोहोर्‍याउन चाहन्छु, स्वयं सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा सहभागी हुने बाहना बनाएर गएका केही मानिसहरु फर्किएनन्, यो गम्भीर विषय हो ।’

एमाले सांसदले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेकोमा पनि उनले आपत्ति जनाइन् । ‘मेरो भनाइ रेकर्डबाट किन हटाउने ? रास्वपा जिम्मेवार पार्टी हो र जिम्मेवार पार्टीको जिम्मेवार सांसद भएको कारण म आफ्ना कुरा सबैको जानकारीका लागि र स्पष्टताका लागि राख्छु’, सांसद गौतमले भनिन्, ‘महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउनपर्ने त होइन होला नि ! मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ भने त्यो मेरो समस्या होइन ।’

गौतमले संसदमा हिजो प्रश्न उठाएपछि प्रधानमन्त्रीको सचिवालयले स्पेन भ्रमणमा जानेहरुको नाम नाम सार्वजनिक गरेको थियो ।

यता, एमाले सचेतक सुनिता बरालले नेपाली भाषाबारे गौतमलाई जवाफ फर्काएकी छन् । उनले संसद्मै भनिन्, ‘देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै सम्बन्धित हुँदैन । राष्ट्रको कार्यकारी प्रमुखको रूपमा गएको हुन्छ । तपाईँलाई भाषाको ज्ञान र परिभाषा सिकाउन पर्‍यो भने हामी तयार छौँ, तर हेक्का पुर्‍याएर बोल्नुस् ।’

सोविता गौतम