Logo
२७ असार २०८२, शुक्रबार

बालेनले बोलाए कार्यपालिका बैठक, प्रमुख प्रशासकीय अधिकृतलाई पठाए छुट्टीमा

अक्षरपाटी
२०८२ असार २६ , बिहीबार ०२:०७ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक करिब ६ महिनापछि भोलि बस्दैछ। महानगर प्रमुख बालेन शाहले शुक्रबार दिउँसो २ बजे कार्यपालिका बैठक बोलाएका हुन्।

वडा नम्बर २६ का अध्यक्ष ख्याम तिवारीका अनुसार बैठक बस्ने निर्णय टुंगो भइसकेको छ। “भोलि दुई बजे कार्यपालिका बस्ने भएको छ,” तिवारीले जानकारी दिए।

यता, स्रोतका अनुसार कार्यपालिका बैठकको समयमा प्रमुख प्रशासकीय अधिकित सरोज गुरागाईंलाई छुट्टीमा बस्न लगाइएको छ। “कार्यपालिका बैठक राख्नको लागि कार्यकारीलाई छुट्टीमा बस्न लगाइएको हो,” स्रोतले भन्यो, “मेयरले नै कार्यकारीसँग बैठक नबस्ने अडान लिएपछि बजेट प्रक्रिया अघि बढाउन कार्यकारीलाई छुट्टीमा बस्न लगाइएको हो। उहाँले पनि त्यसमा सहमति जनाउनुभएको छ।”

काठमाडौं महानगरको चर्चित काठमाडौं टावरको नक्सा पास विवाद सुरु भएपछि कार्यपालिका बैठक बस्न सकेको थिएन। सो विवादको झल्को दिँदै कार्यपालिका बैठक स्थगित हुँदै आएको थियो। करिब ६ महिनापछि पुनः बैठक बस्न लागेको हो।

उक्त बैठकमा महानगरको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटसम्बन्धी प्रस्तावहरू पेस हुने अपेक्षा गरिएको छ।

काठमाडौं महानगरपालिका बालेन शाह