नगरप्रमुखका सहयोगीबाट ‘हाकिम’ कुटिए, कर्मचारीद्वारा कामकाज ठप्प

अक्षरपाटी
२०८२ साउन ३ , शुक्रबार ०३:०७ मा प्रकाशित

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकामा कर्मचारीहरुले कामकाज ठप्प पारेर आन्दोलन सुरु गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भएपछि कर्मचारीहरु आन्दोलित भएका हुन्।
प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीलाई हिजो बिहीबार दिउँसो नगर प्रमुख देविदत्त कडेलका सहयोगी उमेश जोशीले कुटपिट गरेको आरोप छ।

प्रमुख प्रशासकीय अधिकृत नै कुटिएपछि गौरीगंगा नगरपालिका कर्मचारी आन्दोलित भएका हुन।

कर्मचारीको सुरक्षाको प्रत्याभुति नभएसम्म अत्यावश्यक सेवाबाहेकका सेवा स्थगित गरिएको कर्मचारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साउन १ गतेका दिन गौरिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि कार्यकक्षभित्रै भएको कुटपिट तथा अभद्र व्यवहार भएकोप्रति कर्मचारीहरूले दुख प्रकट गर्दै घोर भत्र्सना गरेका छन्।

‘सार्वजनिक कार्यालयको मर्यादा भंग गर्ने यस्ता अमानवीय क्रियाकलापले सम्पूर्ण कर्मचारी समुदायमा भय, त्रास र असुरक्षाको वातावरण सिर्जना भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कार्यालय तथा कार्यकक्ष जस्तो सुरक्षित ठानिएको स्थानमै कर्माचारीमाथि कार्यालय समयमा नै आक्रमण हुनु निन्दनीय छ। यसले राज्यको कर्मचारी सुरक्षाप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।’

भविष्यमा यस्ता लज्जास्पद र अमर्यादित अमानवीय क्रियाकलाप गर्ने दुस्साहस नगरियोस् भन्दै चेतावनी दिइएको छ।

कुटपिटको कारण भने खुलेको छैन। मेयर कँडेल र प्रमुख प्रशासकीय अधिकृतबीच केही समयदेखि विवाद रहेको बताइएको छ।

हाकिम सापको कार्यशैलीप्रति मेयर साप पहिलेदेखि नै खुसी थिएनन्, गौरीगंगा नगरपालिकाका एक कर्मचारीले भने, ‘उहाँ (प्रमुख प्रशासकीय अधिकृत) ले काम गर्दा सल्लाह नगर्ने र एकलौटी रुपमा काम गर्दै आउनुभएको थियो। त्यहीं विवाद बढेको हुनसक्छ।’

कर्मचारी आन्दाेलन गाैरीगंगा नगरपालिका हाकिम कुटिए