घुस प्रकरण : बयान दिन अख्तियार पुगिन रञ्जिता श्रेष्ठ

अक्षरपाटी
२०८२ साउन ७ , बुधबार ०१:०७ मा प्रकाशित

काठमाडौं । पोखरास्थित लिची बगानको जग्गा व्यक्तिको नाममा लैजान ७८ लाख रुपैयाँ घुसकाण्डमा जोडिएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकी छन् ।

उनले बुधबार बिहान अख्तियार पुगेर उक्त घुस प्रकरणमा बयान दिएकी हुन् । उक्त घुस प्रकरणमा बिचौलियामा भनिएका एमालेका कार्यकर्ता सुजन लामा र निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताबीचको लेनदेनमा जोडिएकी श्रेष्ठले अख्तियारमा पुगेर बयान दिएकी हुन् ।

उनले घुस लेनदेन र कारोबारका लागि संवाद गरेको म्यासेज पनि अहिले भाइरल भइरहेको छ। अख्तियारमा पुगेर उनले भ्वाइस टेस्ट गराउनुका साथै उक्त प्रकरणमा जोडिएका बिषयामा बयान दिएर निस्किएकी छन् ।

७८ लाख रूपैयाँ घुसकाण्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री गुप्ताले राजीनामा दिएका थिए । गुप्ताले मंगलबार मात्रै अख्तियार पुगेर ‘भ्वाइस टेस्ट’ र आवश्यक बयान दिइसकेका छन् ।

घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुस प्रकरण रञ्जिता श्रेष्ठ