गणतन्त्र सही मार्गमा छ, शासन सञ्चालन गर्नेहरू सच्चिउन : प्रथम राष्ट्रपति

अक्षरपाटी
२०८२ साउन ७ , बुधबार ०८:०७ मा प्रकाशित

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी ्कोइरालाको ४३ औँ पुण्यस्मृति दिवसका सन्दर्भमा ‘जननायक बिपी कोइराला स्मृति ट्रस्ट’ले आयोजना गरेको कृति विमोचन समारोहमा उनले संविधान कार्यान्वयनका सन्दर्भमा आएका चुनौती समीक्षा गर्नुपर्ने बताए।

कार्यक्रममा सम्बोधन गर्दै डा यादवले संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाए पनि कार्यान्वयनका क्रममा कमजोरी भएको बताएका हुन्।

डा यादवले समानुपातिक, समावेशी, सङ्घीयतासहितको संविधान कार्यान्वयन प्रक्रियामा रहेका विषयलाई सकारात्मक रुपमा लिनुपर्ने बताए।

उनले भने, ‘हामी ठिक मार्गमा छौँ । देश गणतान्त्रिक व्यवस्थामा सही मार्गमा छ । तर शासन सञ्चालन गर्नेले सोच्नुपर्ने बेला हो यो। कमजोरी सच्याउनुपर्ने समय हो। नेपालले अब कुनै प्रतिगमन देख्नु नपरोस्। विगतको सङ्घर्षपूर्ण इतिहास युवा पुस्तालाई बुझाउनै पर्छ।’

प्रा डा हरिप्रसाद पराजुलीद्वारा लिखित एवं सम्पादन रहेका ‘बिपी कोइरालाका दुर्लभ रचना’ र विश्वेश्वरप्रसाद कोइरालाका कथा र कथाकारिताको विश्लेषण र मूल्याङ्कन’ पुस्तक विमोचन गर्दै पूर्वराष्ट्रपति डा यादवले राजनीतिक दलहरूले राणाशासन, पञ्चायत हुँदै १० वर्षे सशस्त्र जनयुद्धको स्मरण गरेर सुध्रिनुपर्ने बताए।

‘राजावादी होइन, समाजवादी बिपी’

पूर्वराष्ट्रपति डा यादवले महामानव बिपी कोइरालाका सन्दर्भमा गरिएका प्रचारबारे प्रस्टीकरण दिएका छन्। उनले २०१२ को वीरगञ्ज अधिवेशनमै नेता कोइरालाले यो विषयमा प्रस्ट पारेको बताए।

उनले भने, ‘बिपी कोइराला राजतन्त्रका प्रवर्तन हुनुहुन्न थियो। बिपीले वीरगञ्ज अधिवेशनमा ‘अहिले हामी आधुनिक समाज निर्माण गर्न हिँडेका छौँ। राजसंस्थालाई, राजालाई मुर्दालाई काँधमा बोकेर हिँड्ने बेला जस्तो भएको छ। तर यो समयसापेक्ष होइन। नेपालका सन्दर्भमा यसो गर्नु परिरहेकोछ’ भन्नुभएको थियो। त्यो बिपी कोइरालाको रणनीति थियो। मेलमिलापको रणनीति थियो। बिपी कोइराला राजावादी होइनन्। प्रजातन्त्रवादी, समाजवादी र गान्धीवादी हुनुहुन्थ्यो।’

डा यादवले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालामा गाउँको विकास गर्ने सोच रहेको र समाजवादका माध्यमबाट समाज बल्दने सोच रहेको बताए।

उनले राणाशासनको अन्त्यपछि बिपीले नेपालमा पार्टी संगठन विस्तारमा लाग्दा नेपालका तराई, मधेश, हिमाल र पहाडको जनजीवनका सबै आयाम बुझेको बताए।

उनले भने, ‘बिपी कोइरालामा लोकतन्त्र र समाजवादमार्फत दुई महान राष्ट्रको बीचमा रहेको नेपाल राष्ट्रलाई समुन्नत र सफल बनाएर अघि बढाउने उच्चतम चिन्तन थियो। दुईतिहाइ जितेर राष्ट्र बनाउँछु भन्ने विपी कोइरालाको संकल्प थियो। १५ वर्ष सरकार चलाउन पाएको भए अर्कै अवस्था हुने थियो।’

डा यादवले बिपी कोइरालालाई बहुआयामिक व्यक्तित्वका रुपमा स्मरण गरे। उनका अनुसार नेता कोइरालाले नेपाली, हिन्दी र अंग्रेजीमा पनि साहित्य लेखन गरेका थिए।

उनले भने, ‘बिपी २५ वर्षसम्म भारतमा बस्नुभयो। उहाँलाई दक्षिण एशियाकै उदाहरणीय राजनेता मानिन्थ्यो। बिपी कोइरालाले २०२८–३० तिर हतियारको राजनीति गर्ने सोचे पनि २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर फर्किएको र राष्ट्रलाई एकतावद्ध गर्ने अभियान आरम्भ गर्नुभयो।’

लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं पूर्वसचिव उमेशप्रसाद मैनालीले सरकारको नेतृत्व गर्दा बिपी कोइरालाले मन्त्री, सांसद्को तलव घटाएको स्मरण गर्दै राज्यका प्रशासनिक निकाय र कर्मचारीतन्त्रका सुधारकका रुपमा बिपीलाई सम्झिनुपर्ने बताए।

कृति लेखक तथा सम्पादक प्राडा हरिप्रसाद पराजुलीले महामानव बिपी कोइरालालाई भेट्न जाँदा आक्रमणमा परेको स्मरण गर्दै पुस्तकमा बिपीको जीवन संघर्षका बहुआयामिक पक्ष समेटिएको जानकारी दिए।

वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतमले राजनीतिक रुपान्तरणसँगै नेपाली साहित्यमा बिपी कोइरालाको विशिष्ट योगदान रहेको स्मरण गर्दै अहिलेको पुस्ताले पनि बिपीकै शैली अनुशरण गरिरहेको बताए।

कांग्रेस केन्द्रीय सदस्य किरण यादव, ट्रस्टका बोर्ड सदस्य प्राज्ञ डा ज्ञानु पाण्डेले बिपी कोइरालाको राजनीतिक जीवन प्रेरणादायी र युगीन रुपान्तरणतर्फ दृढ रहेको बताउँदै बिपीको वैचारिक, राजनीतिक, सैद्धान्तिक धरातललाई बुझ्नुपर्नेमा जोड दिए।

ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले महामानव बिपी कोइरालाको राजनीतिक विरासत, लोकतान्त्रिक आन्दोलनका लागि प्रेरित गर्नका लागि गर्नुभएका अथक प्रयास र नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन गरेको संघर्षका गाथा पुस्तकमा समेटिएको बताए।

पराजुलीले ट्रस्टले नेता कोइरालाका साहित्यिक, राजनीतिक एवं अन्य दस्तावेजलाई संरक्षण गरिरहेको जानकारी दिए ।

डा रामवरण यादव प्रथम राष्ट्रपति बिपी कोइराला