काठमाडौं । सामाजिक सुरक्षा कोषमा एकै वर्षमा करिब नौ लाख श्रमिक जोडिएका छन्।
कोषको सचिवालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कविराज अधिकारीले हालसम्म कोषमा २० हजार ९९१ रोजगारदाता र २३ लाख ७४ हजार ४८६ योगदानकर्ता आबद्ध भएको जानकारी दिए।
योमध्ये गत आवमा मात्रै आठ लाख ८२ हजार ९४६ श्रमिक कोषमा आबद्ध भएका हुन् ।
कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको सम्पूर्ण स्वास्थ्य जिम्मा लिने घोषणा समेत गरेको छ।
कोषको सचिवालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कविराज अधिकारीले अबको चार वर्षभित्रमा श्रमिक र श्रमिकका परिवारको स्वास्थ्यको सम्पूर्ण जिम्मा कोषमार्फत राज्यले लिने गरी काम भइरहेको स्पष्ट पारेका हुन्।
योगदानकर्ताको स्वास्थ्योपचारसम्बन्धी सुविधालाई थप विस्तार गर्दै लगिएको अधिकारीले जानकारी दिए।
औपचारिक क्षेत्रका श्रमिकको परिवारमा स्वास्थ्य सेवा विस्तार भई चालु आर्थिक वर्षमा कार्यान्वयनमा आइसकेको उनले बताए।
‘आजभन्दा पाँच वर्षअघि योगदानकर्तामा सीमित रहेको स्वास्थ्य उपचार सेवा अहिले योगदानकर्ताको परिवारमा समेत विस्तार भइसकेको छ,’ उनले भने, ‘औषधि उपचारको एक लाखको सीमालाई योगदानकर्ताको हकमा अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा १० लाखसम्मको उपचार खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधासमेत उपलब्ध गराइएको छ।’
रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा उल्लेख्य वृद्धि भएको उनले जानकारी दिए।
कार्यकारी निर्देशक अधिकारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकबाट हुने योगदान रकमको नियमितताका लागि प्रयास जारी रहेको पनि बताए।
औपचारिकतर्फ ६ लाख १ हजार ८२५, वैदेशिक क्षेत्रतर्फ १७ लाख ७१ हजार ५३७ तथा अनौपचारिक र स्वरोजगार क्षेत्रतर्फका श्रमिकको संख्या १ लाख १२४ छ।
आव २०८१/८२ मा थप २५ अर्ब ३६ करोड योगदान रकम संकलनसहित कुल योगदान रकम संकलन ८३ अर्ब ६५ करोड पुगेको कोषले जनाएको छ।
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत १ लाख १० हजार ६९६ योगदानकर्तालाई २ अर्ब १५ करोड र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ५ हजार ९३३ योगदानकर्तालाई २० करोड भुक्तानी गरेको छ।
त्यस्तै, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ७४५ जनालाई २६ करोड र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत १ लाख १२ हजार ८६८ योगदानकर्तालाई १३ अर्ब १३ करोड भुक्तानी भएको कोषले जनाएको छ।