झापा। विशेषगरी वीरगन्ज कृषि औजार कारखाना र राष्ट्रिय आविष्कार केन्द्र संचालनका लागि डा महावीर पुनले आफ्नै आत्मकथा बेचेर ठूलो रकम जुटाएका छन्।
केन्द्रका अध्यक्ष समेत रहेका डा महावीर पुनले औजार कारखाना, आविष्कार केन्द्र र देशमै वैज्ञानिक आविश्कारका लागि गरेको आग्रह कतैबाट सुनुवाई नभएपछि उनी आफ्नै आत्मकथा लिएर देशयात्रामा छन्।
पुनले सन् २०१२ मा सूचना तथा प्रविधिमार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए।
दुरदर्शी योजनालाई मुर्तरुप दिन ठूलो आर्थिक सहयोगको खाँचो भए पनि पुनले सरकारको ढोका धेरैपटक ढकढक्याए।
कतैबाट सुनुवाई नभएपछि उनले औजार कारखाना स्थापना, आविष्कार केन्द्र सञ्चालनका लागि आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बेच्ने अभियान सुरु गरेका हुन्।
देश दौडाहाका क्रममा उनले दुई लाख १८ हजार प्रति किताब बिक्री गरेका हुन। केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका क्रममा विर्तामोड पुगेका डा पुनले उक्त जानकारी दिएका हुन्।
पुस्तक बिक्रीबाट उनले हालसम्म १६ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेका बताएका छन्। सो रकममध्ये १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको छ।
उनको पुस्तकको मूल्य ७५० रुपैयाँ छ । सो रकमलाई उनले केन्द्रले सञ्चालन गर्दै आएको वीरगन्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिँदै आएका छन्।
पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहेका उनलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ।
विभिन्न सँस्था, व्यक्ति, पालिकाले उनलाई आमन्त्रण गरेर पुस्तक किन्ने क्रम पनि बढेको छ।
पछिल्लोपटक उनी बिर्तामोड नगरपालिकामा आयोजित कार्यक्रममा पुगे। पालिकाले केन्द्रको सहयोगार्थ ५० हजार मूल्य बराबरका पुस्तक खरिद गरेको थियो।
बिर्तामोड, दमक, बाह्रदशी, बुद्धशान्तिलगायतका पालिकामा स्थानीय सामाजिक संस्था र युवाहरूको अगुवाइमा उनको किताब किन्ने अभियान सञ्चालन भइरहेको छ।
डा पुनले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न युवालाई आग्रह गर्दै आएका छन्।
‘देशका लागि आ-आफ्नो तर्फबाट सानो भए पनि योगदान गर्नुपर्छ,’ उनले भने, ‘सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र हुँदैन ।’
राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेका छन्।
वायरलेस टेक्नोलोजीमार्फत गाउँ,घर र त्यहाँका विभिन्न स्कुलमा इन्टरनेट पुर्याएर दुर्गमको मानव जीवनलाई सहज बनाउने पुन प्रसिद्ध म्यागासेसेलगायत दर्जनौँ अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित व्यक्तित्व हुन्।
महावीर पुन राष्ट्रिय आविष्कार केन्द्र