निर्मला हत्याको सात वर्ष : अनसन बस्ने आसनमा, न्याय गुमनाम

अक्षरपाटी
२०८२ साउन ११ , आईतबार ०९:०७ मा प्रकाशित

धनगढी। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष भयो। तर उनका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन्। परिवारका आशुँ सुकेका छैनन्। तर न्यायप्रतिको विश्वास भने डगमगाउँदै गएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले सबैभन्दा बढी समय र शक्ति खर्च गरे पनि उनका हत्याराको अझै पत्तो नलागेको गुनासो आफन्तजनको छ।

त्यो मात्र होइन निर्मला हत्यापछि कञ्चनपुरको किनारमा बग्ने महाकाली नदीमा धेरै पानी बगिसक्यो। उनकै न्यायका लागि आवाज उठाउने जिल्लाबासी नेता एनपी साउँद मन्त्री बने, बीना मगर मन्त्री भइन्, ६ जना गृहमन्त्रीको आसनमा पुगे। यतिबेला नेपाली कांग्रेसमा आसा गरिएका नेता रमेश लेखक गृहमन्त्री नै छन्।

साउद र लेखक निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा अनसन नै बसेका नेता पनि हुन। तर उनीहरु मन्त्री पदमा आसिन हुँदा पनि आफ्नै क्षेत्र र जिल्लाकी चेलीको न्यायका लागि भने सिन्को भाँच्न नसकेकाे गुनासो परिवारले मात्र होइन स्थानीयले गर्दै आएका छन्।

विसं २०७५ साउन १० गते साथीको घरमा पढ्न गएकी भनिएकी बालिका पन्तको शव साउन ११ गते घरनजिकैको उखुबारीमा भेटिएको थियो।

घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन मुलुकभर आन्दोलन भयो। सो घटनालाई लिएर देशै कम्पित बन्यो।

सरकारले पनि घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिमाथि छानविन समिति बनयो।

राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन गरे । प्रहरीको सबैभन्दा बढी स्रोत साधनको खर्च यही प्रकरणमा गरे पनि हालसम्म उपलब्धि हात लागेको भने छैन।

प्रहरीले भने अहिले पनि प्रहरीले निर्मला पन्तको घटना प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

सिआईबीबाट १० टोलीले अनुसन्धान गरिसकेको छ, अहिले पनि सिआईबी र प्रहरीले अनुसन्धान जारी रहेको यस घटनामा अहिलेसम्म १२४ जनाको डीएनए परीक्षण भएको छ र ६५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको प्रहरीको भनाइ छ।

घटना भएको एक महिनापछि २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–१९ बागफाटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले थप उग्र रुप लिएपछि विष्टलाई रिहा गरिएको थियो।

प्रहरीले भने यो घटना अनुसन्धानको प्राथमिकताबाट नहटेको बताउँदै भनेको छ,’२० वर्षसम्म त यसको हदम्याद नै हुन्छ। घ६नाको अनुसन्धान जारी छ।’

निर्मला पन्त हत्या प्रकरण