Logo
२६ साउन २०८२, सोमबार

जिन्दगी

अक्षरपाटी
२०८२ साउन १५ , बिहीबार ०२:०७ मा प्रकाशित

जिन्दगी नदीको गीत जस्तो
बेपर्वाह सुसाइरहन्छ ।
नभेटेरै किनार पनि जसरी बग्छ नदी
उसैगरी एकतमासले बग्दो रहेछ जिन्दगी !

नभेटेरै पनि पुग्नुपर्ने भरोसामा
कति यात्रा हिँड्छ जिन्दगी !

सङ्घर्षको बलेसीबाट तप तप
जब पीडाको धमिलो पानी खस्छ
रुझेर मनको सारङ्गी
आफैभित्र दुःखको संगीत रेटिन्छ !

स्वार्थभन्दा पर
असहजता कुल्चिएर
खर्चिएको एक फाँको मुस्कान पनि
जब दुर्घटित हुन्छ आफ्नैहरूबाट
मन त चट्टान बन्दो रहेछ बिस्तारै …
र आफ्नै आकारमा बद्लिएर
कठोर पाखा भित्ताहरूमा मिल्दोरहेछ !

लाग्छ एउटा तरबार बन्दैछ बिस्तारै आफै भित्र
जसले रेट्न सकोस्
ममाथि आतंक मच्चाउने निरङ्कुश सोचहरू।
जीवनयात्रको नागबेली बाटो
दुःखको गीत गुनगुनाउने अनौठो पाटो…

गाइदिऊँ जस्तो व्यथाकै गीतहरू यसरी
र सोधूँ उभ्याएर नारायण गोपाललाई एकफेर
‘झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी’
जिन्दगीको कुन राग छ यो तालमा ??
कुन सुर लागेको थियो जिन्दगीको हरफमा ??
भोगाइका कत्ति किस्साका लय जोडियो नारायण दाइ ?

ओहो !
मलाई यतिबेला हुरुक्क हुने गरी
किन मन परिरहेकोछ यो गीत ?
आऊ मेरो मुटु छेँडेर जाने मेरो प्रिय मान्छे
एउटा यस्तो गीत बनाऊँ
जहाँ मैले मलाई भेट्न सकूँ
मैले मलाई रेट्न सकूँ
गीतका हरफ हरफमा !

जिन्दगी ढलेको साँझ लुकेर जूनसँग
पर्खिनु छ अझै
एउटा सत्य यो छ मसँग कि
पक्का बिहान हुनेछ !!!

कविता जिन्दगी लीला अनमाेल
यो पनि हेर्नुहोस् : जीवनको हाजिरीखाता