Logo
३१ साउन २०८३, आईतबार

लामो खडेरीपछि मधेशमा वर्षा, किसानलाई राहत

अक्षरपाटी
२०८२ साउन १७ , शनिबार १०:०८ मा प्रकाशित

काठमाडौं। पानी नपरेपछि अनेकन परम्परागत विधि, मान्यता र पूजा गर्दा पनि राहत नपाएका मधेश प्रदेशवासीले शुक्रबारयता भने राहत महसुस गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारदेखि मधेशमा भारी वर्षा भएको छ। विभागका अनुसार ५० देखि १०० मिलिलिटर पानी परेमा त्यसलाई भारी वर्षा मानिन्छ।

आज गरेको मापनअनुसार धनुषाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर पानी परेको छ। धनुषाकै हार्दिक नगरमा ५१ मिलिमिटर मापन गरिएको छ।

बाराको अमलेखगञ्जमा ४६.४ मिलिमिटर, रोतहटको गौरमा ४६.६, सर्लाहीमा ३७.६ र महोत्तरीको गौशाला केन्द्रमा ३२.४ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ।

लामो समय पानी नपरेपछि मधेश प्रदेशका केही जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो। पिउने पानीको समेत हाहाकार भएपछि प्रहरी र नेपाली सेनाले खानेपानी वितरण गरेको थियो।

सुख्खाग्रस्त क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टरमार्फत अवलोकन गरेका थिए। विभागले शनिवार राति पनि मधेश प्रदेश क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरेको छ।

मधेश प्रदेश वर्षा