Logo
२६ साउन २०८२, सोमबार

रुसी तेल आयात नरोकेको भन्दै भारतप्रति ट्रम थप कडा, भन्सार महसुल ५० प्रतिशत पुर्याए

अक्षरपाटी
२०८२ साउन २२ , बिहीबार ०९:०८ मा प्रकाशित

काठमाडौं । भारतले रुसी तेल आयात नरोकेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत प्रति थप कडा देखिएका छन्।

भारतबाट आयात हुने सबै वस्तुमा उनले थप २५ प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेका छन्।

यो नयाँ महसुल यसअघि लागु भइसकेको २५ प्रतिशतसँग जोडिएर कुल ५० प्रतिशत हुनेछ।

यो निर्णय कार्यान्वयनमा आउन २१ दिन लाग्ने बताइएको छ। ट्रम्प प्रशासनले भारतले अझै पनि रूसी तेल आयात गरिरहेको भन्दै यस्तो निर्णय गरेको हो।

यसअघि जुलाई ३१ मा नै उनले २५ प्रतिशत महसुलको घोषणा गरेका थिए। नयाँ निर्णयसँगै भारतबाट अमेरिका जाने बस्तुमा कुल ५० प्रतिशत भन्सार महसुल लाग्नेछ।

‘रुसको तेल किनिरहेको भारतबाट हुने आयातमा थप महसुल लगाउन आवश्यक र उचित ठान्दछु,’ ट्रम्पले कार्यकारी आदेशमा भनेका छन्।

यसको जवाफमा भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै उक्त कदमलाई ‘अनुचित, अकारण र तर्कहीन’ भनेको छ ।

अमेरिका र युरोप आफैंले पनि रूससँग ठूलो परिमाणमा व्यापार गरिरहेका छन्, तर भारतलाई मात्र निशाना बनाइएको भारतले आरोप लगाएको छ ।

उता, चीन, युरोप र अमेरिका आफैंले पनि रूसबाट अरबौं डलरको तेल र अन्य सामाग्री किनिरहेका छन्, तर उनीहरूमाथि कुनै कारवाही गरिएको छैन।

ट्रम्पको यो निर्णय उनका विशेष दूत स्टीव विटकॉफ़ले पुटिनसँग भेट गरेपछि आएको हो।

विश्लेषकहरूका अनुसार यसले भारत(अमेरिका व्यापारिक सम्बन्धमा थप तनाव ल्याउने जोखिम बढेको छ ।

डोनाल्ड ट्रम्प भारत रुस