Logo
२६ साउन २०८२, सोमबार

जीवनको हाजिरीखाता

अक्षरपाटी
२०८२ साउन २३ , शुक्रबार ०१:०८ मा प्रकाशित

० लीला अनमोल

मनभित्रको बगरमा
टुसाएर बसेको छ युगौंदेखि
एउटा असमानताको चर्को घाम
जसले पोलिरहन्छ मलाई पटक–पटक,

चुल्हा चौका र गृहस्थीका लाचारीहरूमा
परिस्थितिका चक्कीमा पिसिएका विभेदहरूले
मेरो वर्तमानलाई बिझाउँछ उसैगरी,

रहरका सुनगाभाहरू चोरेर ऊ
म भित्रको बाध्यताको पर्खाल लगाउँछ
र आदर्शको आगोले
डढाएर मेरो पारिलो स्वतन्त्रता
क्षणभरमै ध्वस्त पारौँ भन्छ ।

उम्रनै सक्तैन मेरो प्रगतिको हरियो दुबो
उसको कठोरताको रापिलो प्रकाशले
न कहिल्यै
झुल्कन सक्छ मेरो जून
ग्रहण लागेको उसको आकाशमा,
बरु पिएर ऊ
मेरो अस्मिताको मिठो राग
आफ्नै जीवनको आनन्दी गीत गुनगुनाइरहन्छ।

म चाहन्थेँ–
शिशिर लागेको यो समय
शीतले भिजोस् उसको निरङ्कुशता
छोपोस् कुहिरोको लहरले
मेरा निम्ति
उसले उभ्याएका असिमित पहाडहरू
चिमोटोस् सिरेटोले
मेरो स्वतन्त्रता खोस्ने
उसको छिप्पिएको मस्तिष्क,

तर म यतिबेला विद्रोही भएकी छु
उल्लङ्घन गरेर उसको आचारसंहिता
नयाँ योजना कायम गरिरहेछु
उघारेर त्रासको च्यादर
सङ्घर्षको युद्ध लडिरहेछु
खोसेर ऊबाट
मेरो जीवनको हाजिरी खातामा
विभेदको हस्ताक्षर गरिरहेछु।

कविता जीवनको हाजिरी खाता लीला अनमोल
यो पनि हेर्नुहोस् : जिन्दगी