काठमाडौं । कुलिङ अफ पिरियडमा भएको चलखेलमा नैतिक रुपमा जिम्मेवार भएकाले नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ ।
शुक्रबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्मासँग योलगायत पार्टीको आन्तरिक विषयमा छलफल गरेका थिए।
बैठकमा सरकारको समीक्षादेखि कुलिङ पिरियडमाथि भएको छलछामबारे छानबिन समितिले नैतिक जिम्मेवार ठहर्याएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबारे पनि छलफल भएको बताइन्छ।
संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय समितिले समेत ठहर गरिसकेको छ।
काँग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानबिन समितिले खतिवडा जिम्मेवार रहेको प्रतिवेदन पेश गरेको थियो ।
राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियडको व्यवस्था निष्क्रिय हुने गरी प्रतिनिधि सभाबाट पास भएपछि खतिवडा विवादमा परेका थिए।
खतिवडाले पदबाट राजीनामा दिनुपर्ने विचार पार्टीभित्र र बाहिरबाट आइरहेकाबेला पार्टीको शीर्ष तहमा पनि यस विषयमा छलफल भएको र चाँडै निर्देशन दिइने बताइएको छ।
काँग्रेस स्रोतका अनुसार पार्टीले केही समयभित्रै खतिवडालाई राजीनामा दिनका लागि निर्देशन दिने बुझिएको छ।
राज्य व्यवस्था तथा सुशासन समिति रामहरी खतिवडा