काठमाडौं। विवादमा तानिएका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गरिएको छ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
सरकारले ओझाको योग्यताको विवाद सार्वजनिक भएपछि छानबिन गर्न गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।
समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य थिए। समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाउँदै ओझाको योग्यतामा प्रश्न उठाएको थियो।
समितिले ओझाको योग्यताबारे तीन वटा प्रश्न उठाएको थियो।
समितिको अध्ययनअनुसार, बीमा प्राधिकरणको अध्यक्षका लागि आवश्यक उच्च व्यवस्थापन क्षेत्रको अनुभव ओझासँग पर्याप्त नभएको उल्लेख गरिएको छ।
स्रोतका अनुसार, समितिले उनको कार्यक्षमतामाथि पनि प्रश्न उठाउँदै कार्यशैली पदअनुकूल नभएको निष्कर्ष निकालेको छ।
आचरण र नियमित कामकारवाहीमा देखिएका कमजोरीलाई समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।
तर समितिले प्रतिवेदनमा पदमुक्तको सिफारिस भने नगरेको, अन्तिम निर्णय सरकारकै हातमा छाडिएको जनाएको थियो।
सरकारले गत १२ फागुनमा ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।
नियुक्तिपछि अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा उनको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
नियामक निकाय बीमा प्राधिकरणको शीर्ष पदमा ओझाको करिब छ महिना विवादसँगै समाप्त भएको छ।
बीमा प्राधिकरण शरद ओझा