Logo
८ भदौ २०८२, आईतबार

सकारात्मक बन्दै आर्थिक सूचकहरू, आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिश

अक्षरपाटी
२०८२ भदौ ८ , आईतबार ०४:०८ मा प्रकाशित

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको र मुद्रास्फीति घटेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सूचकहरु सकारात्मक बन्दै गएको देखिएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत रहेको अनुमान छ।

अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३ दशमलव ६७ प्रतिशत रहेको थियो।

त्यस्तै, गत आवमा वार्षिक औसत मुद्रास्फीति ४ दशमलव ०६ प्रतिशत रहेको छ ।

अघिल्लो आव २०८०/८१ मा यस्तो मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार गत आवमा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको थियो ।

त्यस्तै, आयात १३ दशमलव तीन प्रतिशतले र निर्यात ८१ दशमलव आठ प्रतिशतले बढेको छ।

अघिल्लो वर्ष आयात १ दशमलव २ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको थियो ।

गत आर्थिक वर्षमा कुल १७ खर्ब २३ अर्ब २७ करोड बराबर विप्रेषण भित्रिएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९ दशमलव २ प्रतिशतले र अमेरिकी डलरमा १६ दशमलव ३ प्रतिशतले बढेको हो ।

गत असार महिनाको विप्रेषण आप्रवाह मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रहेको छ ।

त्यसैगरी, २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१ दशमलव दुई प्रतिशतले वृद्धि भई २०८२ असार मसान्त सम्मा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड बराबर हो ।

उक्त सञ्चितिले १५ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

अर्थतन्त्रका बाह्य सूचकहरु सुधार हुँदै जाँदा विप्रेषण आप्रवाह, विदेशी मुद्रा सञ्चिति र निर्यात हालसम्मकै उच्च अवस्थामा पुगेको छ ।

गत आवमा विस्तृत मुद्राप्रदाय १२ दशमलव ५ प्रतिशतले बढेको छ।

अघिल्लो आव यस्तो मुद्राप्रदाय १२ दशमलव ९ प्रतिशतले बढेको थियो ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२ दशमलव ६ प्रतिशतले वृद्धि भई ७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा आठ दशमलव चार प्रतिशतले वृद्धि भई ५४ खर्ब ९८ अर्ब पुगेको छ।

यस आवमा अघिल्लो आवको तुलनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १०.७१ प्रतिशत, घ्यू तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ।

मरमसला उपसमूहको मूल्य सूचकांक २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको छ।

खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ४.६९ प्रतिशत रहेको छ। अघिल्लो आवमा यो समूहको मुद्रास्फीति ६.४७ प्रतिशत थियो ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पाको ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ४.७८ प्रतिशत र सूर्तिजन्य पदार्थको ४.३७ प्रतिशत रहेको छ।

गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७१ प्रतिशत रहेको छ । यो समूहको गत आवमा ४.६४ प्रतिशत रहेको थियो ।

आर्थिक सूचक नेपाल राष्ट्र बैंक