० गणेश गाउँले
अरूको सफलतामा
मेरो हृदय मुस्कुराउँछ,
अरूको हाँसोमा
म उत्सव मनाउँछु
म मूर्ख हुँ कि के हुँ ?
कसैको संघर्ष देख्दा
मेरो आत्मा प्रेरित हुन्छ,
अनि कसैको असफलता
धैर्यको पाठ बनिदिन्छ
म मूर्ख हुँ कि के हुँ ?
किन लाग्छ यस्तो ?
किन म प्रतिस्पर्धा भन्दा
सहकार्यमा रमाउँछु ?
किन मलाई
अरूलाई अघि बढाएर
पछाडि बस्न आनन्द लाग्छ?
म ईर्ष्या गर्न जान्दिन
बदलाभाव कल्पना पनि गर्न सक्दिन
सायद म कमजोर हुँ
वा साँच्चै मूर्ख हुँ ।
तर एउटा विश्वास छ :
परमात्मामाथि मात्र होइन,
आफ्नो आत्मामाथि पनि,
आफ्ना कर्म र मूल्यहरूमा,
जीवनको यात्रामाथि पनि।
म विश्वास गर्छु
छलकपटले सफल देखिएकाहरू
भगवानका परीक्षार्थी हुन्,
र सत्य र सेवा बोकेकाहरू
भगवानबाट पुरस्कृत सुपुत्रहरू।
मान्छे बन्ने बाटो सजिलो हुँदैन,
सत्कर्मको बाटो त झन् काँडाले भरिएको छ
त्यही भएर म घोषणा गर्छु :
म आज पनि
सिकाइ र सेवाको यात्रामा
एक शिशु कक्षाको विद्यार्थी हुँ।
तर फेरि पनि सोध्न मन लाग्छ-
साँच्चै के म मूर्ख हुँ ?