Logo
११ भदौ २०८२, बुधबार

बीपीनगरमा इलाका प्रशासन कार्यालय : वर्षाैँदेखिका दु:ख दूर

अक्षरपाटी
२०८२ भदौ ११ , बुधबार ११:०८ मा प्रकाशित

डाेटी । लामाे समयकाे दबाव र संघर्षपछि डाेटीकाे बीपीनगरमा इलाका प्रशासन कार्यालय स्थापना हुनेभएको छ।

गत साेमबार सरकारले डाेटीको बडीकेदार गाउँपालिका १ मा रहेको ‘मिनी सिटी’ बीपीनगरमा इलाका प्रशासन कार्यालय स्थापनाको निर्णय गरेको हो।

२०४६ साल चैत २६ मा बीपीनगर स्थापनाका संस्थापक तथा नेपाली कांग्रेसका महासमिति सदस्य पदमराज जोशीको पहलमा साे स्थानामा इलाका प्रशासन कार्यालय स्थापना हुनेभएको हो।

नेता जाेशीले महामानव बीपी कोइरालाको स्मरण र सम्झनामा तत्कालीन घाेडिलासलाई बीपीनगरका रुपमा स्थापना गराउन सफल भएका बताए।

  • ‘मैले जे गरिरहेको छु याे एक राजनीतिज्ञको कर्तव्य हो। जनताका नाममा राजनीति गर्छु भनेपछि जनताका दु:खमा पनि उत्तिकै उभिनुपर्छ’

हाल शिलगढीमा रहेको डाेटीकाे सदरमुकाम पुग्न यस क्षेत्रका तीन गाउँपालिका बडिकेदार, जाेरायल र बाेक्टान फुडसिल गाउँपालिकाका जनताले कम्तिमा ४० देखि ६० काेष टाढाकाे बाटाे तय गर्दै आएका थिए।

‘स्थानीयले वर्षाैँदेखि नागरिकता, सिफारिस, मुद्दामामिला हाेस वा राहदानीदेखि राष्ट्रिय परिचयपत्र बनाउन हाेस, कम्तिमा पाँचदेखि १० दिन खर्चनुपर्थ्याे’, नेता जाेशीले भने, ‘जनतालाई यही दु:खबाट उन्मुक्ति दिन स्थानीय स्तरमै इलाका प्रशासनका लागि लामो संघर्ष गर्नुपर्याे।’

आफूले २०४६ सालमै बीपीबाबुको स्मरणमा विपीनगर स्थापना गरेर हरेक सरकारी निकायका शाखा स्थापनामा पहल गरेपनि गणतन्त्र आएको लामाे सयपछि मात्रै इलाका प्रशासनकाे सपना पुरा हुनलागेको बताए।

‘याे कार्यमा बढीकेदार गाउँपालिका, जाेरायल गाउँपालिका र बाेक्टान फुड्सिल गाउँपालिका धन्यवादका पात्र हुन’, नेता जाेशीले भने, ‘उहाँहरुको सकारात्मक र सक्रिय सहयाेगले याे सम्भव भएको छ।’

अब स्थानीयले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रजस्ता प्रशासनिक कामका लागिल लामाे समय, सास्ती र पैसा खर्च नगर्नुपर्ने उनले बताए।

डाेटी जिल्ला प्रशासनको समेत अहक भूमिकामा साेमबार मन्त्रिपरिषद्ले बीपीनगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेपछि अब आफूहरुका दु:ख कम हुनेमा यस भेगका जनताकाे अपेक्षा छ।

स्थानीय पुस्कर जाेशीले भने, ‘आजका दिनसम्म हामीले एउटा नागरिकताका लागि दुई दिन जान, दुई दिन फर्कन र दुई दिन काम बनाउन गरेर छ दिन खर्चनुपर्थ्याे, अब घर छेउमै याे सेवा पाइने भएकाे छ।’

शिलगढी पुग्दा पनि समयमै काम नहुने हाे भने आउजाउ, बास बस्न र खान गरेर तमाम पैसा समेत खर्च हुनेगरेको सुनाए।

नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका पदमराज जाेशीकाे पहलमा यस क्षेत्रमा इलाका प्रशासन स्थापना सुनिश्चित मात्रै हाेइन यस भेगसहित देशका विभिन्न क्षेत्रमा सयभन्दा बढी विद्यालयमा विभिन्न निकायबाट सहयाेग गराएका छन्।

उनले डाेटी क्षेत्रमा मात्रै दातृ निकायबाट ८ भन्दा बढी एम्बुलेन्स उपलब्ध गराउन पहल गरेकाे स्थानीयहरु सम्झन्छन्।

‘मैले जे गरिरहेको छु याे एक राजनीतिज्ञको कर्तव्य हो। जनताका नाममा राजनीति गर्छु भनेपछि जनताका दु:खमा पनि उत्तिकै उभिनुपर्छ’ जाेशीले भने।

सडक सञ्जाल पुगेपछि डोटीको बीपीनगर क्षेत्र पछिल्लो दशकमा मुख्य व्यापारिक केन्द्र बन्न थालेको हाे । बीपीनगर आसपासको क्षेत्र अदुवा, बेसारजस्ता कृषि उपजको उत्पादन र निर्यात गर्ने मुख्य क्षेत्रका रुपमा चिनिन्छ ।

बडीकेदार गाउँपालिका–१ मा पर्ने यो क्षेत्रमा वार्षिक करोडौं मूल्य बराबरको अदुवा, बेसार, भटमास, कागती लगायत कृषि उपजको कारोबार हुने गर्दछ ।

इलाका प्रशासन कार्यालय पदमराज जोशी बीपीनगर