O गणेश जाेशी
प्रस्तावना
शिक्षा भनेको केवल किताब पढाउने प्रक्रिया मात्रै होइन, यो व्यक्तिको सम्पूर्ण विकास सुनिश्चित गर्ने प्रयास हो।
प्रत्येक बालबालिका फरक–फरक क्षमता, रुचि र शीलस्वभावका साथ जन्मिन्छन्।
उनीहरूका सोच्ने तरिका, बुझ्ने क्षमता र सिक्ने शैलीमा विविधता हुन्छ।
तर नेपालको प्रचलित शिक्षण अभ्यास अझै पनि एकल विधिमा आधारित छ अर्थात पुरानै शैलीमा केन्द्रित छ। जहाँ सबै विद्यार्थीलाई एउटै ढाँचामा सिकाइन्छ।
यसरी सिकाइने प्रक्रियामा धेरै बालबालिकामा निहीत मौलिक प्रतिभाहरू ओझेलमा पर्छन्।
यसको समाधानका रूपमा हावर्ड गार्डनरले सन् १९८३ मा प्रस्तुत गरेको ‘Multiple Intelligences Theory’ अर्थात् ‘वहुवौद्धिकता सिद्धान्त’ आजको शिक्षण–सिकाइमा अत्यन्तै सान्दर्भिक र अपरिहार्य महशुस गरिएको छ।
वहुवौद्धिकता के हो?
Multiple Intelligences भन्ने सिद्धान्त अनुसार, मानिसमा एउटामात्रै बुद्धिमत्ता हुँदैन, तर विभिन्न किसिमका बुद्धिमत्ता (Intelligences) को संयोजन हुन्छ।
हरेक व्यक्तिमा यी बाैद्धिकताहरूको अनुपात फरक हुन्छ। हावर्ड गार्डनरले कम्तीमा ८ किसिमका वौद्धिकता पहिचान गरेका छन् –
१. भाषिक बाैद्धिकता (Linguistic Intelligence): लेखन, बोल्ने क्षमता, भाषाप्रति रुचि
२. तार्किक–गणितीय बाैद्धिकता (Logical-Mathematical): तर्क, गणित, विश्लेषणात्मक सोच
३. सङ्गीतात्मक बाैद्धिकता (Musical): धुन, ताल, संगीतप्रतिको संवेदनशीलता
४. शारीरिक–गतिशील बाैद्धिकता (Bodily-Kinesthetic): शरीरको प्रयोगमार्फत सिक्ने क्षमता
५. दृश्य–स्थानिक बाैद्धिकता (Visual-Spatial): चित्र, नक्सा, रंग तथा आकृति बुझ्ने क्षमता
६. अन्तरव्यक्तिगत बाैद्धिकता (Interpersonal): अरूसँग व्यवहार गर्न, भावना बुझ्न सक्ने क्षमता
७. आन्तरिक बाैद्धिकता (Intrapersonal): आत्मबोध, आत्म–चिन्तन, आत्म–अनुशासन
८. प्राकृतिक बाैद्धिकता (Naturalistic): प्रकृति, जनावर, वातावरणप्रतिको संवेदनशीलता
यी वौद्धिकताहरू सबै विद्यार्थीमा आ–आफ्नै किसिमले सक्रिय हुन्छन्। कोही भाषामा अब्बल हुन्छन्, त कोही चित्रकलामा। कोहीले खेलकुदमार्फत सिक्छन्, त कोही संगीत सुनेर भाव बुझेर सिक्छन्। त्यसैले, बालबालिकालाई एउटा मात्र बौद्धिकताको आधारमा मूल्याङ्कन गर्नु अन्याय हो।
नेपाली सन्दर्भमा बहुबाैद्धिकता
नेपालको शिक्षा प्रणाली अझै पनि परीक्षामुखी, रटानमुखी र अङ्क–केन्द्रित छ। विद्यालयमा शिक्षकहरू प्रायः भाषिक र गणितीय बाैद्धिकता भएका बालबालिकालाई मात्र ‘बुद्धिमान’ ठान्ने गर्छन।
तर, खेलकुदमा अब्बल विद्यार्थी, सृजना र रचनामा रुचि राख्ने विद्यार्थी, वा समूहमा राम्रो काम गर्ने विद्यार्थीको प्रतिभा प्रायः उपेक्षित हुन्छ।
ग्रामीण नेपालमा, अझै पनि शिक्षकहरूको तालिमको अभाव र स्रोत–साधनको कमीका कारण बहुबाैद्धिकतामा आधारित शिक्षण विधि कार्यान्वयनमा कठिनाइ छ।
तर, केही निजी तथा नवप्रवर्तनशील सामुदायिक विद्यालयहरूले अब बालकेन्द्रित शिक्षण, परियोजनामूलक शिक्षण, र सक्रिय सिकाइ विधिमार्फत बहुबाैद्धिकतामैत्री अभ्यास सुरु गरिरहेका छन्। यस्ता प्रयासले बालबालिकामा आत्मविश्वास, जिज्ञासा र सिर्जनशीलता बढाउँछ।
विश्व सन्दर्भमा बहुबाैद्धिकता
अमेरिका, फिनल्याण्ड, सिंगापुर जस्ता देशहरूमा शिक्षण प्रणाली नै विद्यार्थीको बौद्धिक शैली बुझेर निर्माण गरिएको छ। ती देशहरूमा विद्यार्थीको प्रतिभा चिन्न ‘interest inventories’, ‘learning style assessments’, र ‘student portfolios’ जस्ता प्रविधि प्रयोग गरिन्छ।
उदाहरणका लागि, फिनल्याण्डमा विद्यार्थीको व्यक्तिगत रुचिअनुसार विषय छनोट गर्न पाइन्छ। उनीहरूको Project-based learning विधि बहुबाैद्धिकतालाई सम्बोधन गर्न विशेष प्रभावकारी छ।
सिंगापुर जस्तो देशले भने विद्यार्थीलाई प्रारम्भिक तहमै ‘streaming’ प्रणालीमार्फत उनीहरूको बलियो बाैद्धिकताअनुसार विभिन्न शैक्षिक मार्गमा लैजाने अभ्यास गर्छ।
यी अभ्यासहरूले पुष्टि गर्छन् कि बहुबाैद्धिकता पहिचान गर्दै शिक्षा दिनु भनेको केवल ज्ञान हस्तान्तरण होइन, बच्चाको पूर्ण क्षमता उजागर गर्नु हो।
शिक्षकहरूका लागि:
-विद्यार्थीलाई राम्रोसँग बुझ्नुहोस्।
केवल पाठ्यक्रम पुरा गर्नुभन्दा, उनीहरूको व्यवहार, रुचि, प्रतिक्रिया अवलोकन गर्नुहोस्।
-विविध शिक्षण विधि प्रयोग गर्नुहोस्।
दृश्य, श्रवण, शारीरिक क्रियाकलाप, नाटक, सङ्गीत आदिको मिश्रणबाट पठन–पाठन गराउनुहोस्।
-सक्रिय सहभागितालाई प्रोत्साहन गर्नुहोस्। विद्यार्थीलाई समूहमा काम गर्न, प्रोजेक्ट बनाउन, प्रस्तुति दिन मौका दिनुहोस्।
-नकारात्मक तुलना नगर्नुहोस्। सबैको बाैद्धिकता फरक हुने भएकाले, एकलाई अर्कोसँग तुलना गर्दा आत्मविश्वासमा ह्रास आउँछ।
अभिभावकहरूका लागि:
-छोराछोरीको क्षमता चिन्नुहोस्।
उनीहरू कुन कुरामा रमाउँछन्, कति समय खर्च गर्छन्, त्यो अवलोकन गर्नुहोस्।
-पढाइबाहेकका गतिविधिमा पनि संलग्न गराउनुहोस् ।
खेलकुद, कला, सङ्गीत, प्रकृति अन्वेषण आदिमा रुचि भए प्रोत्साहन गर्नुहोस्।
-सकारात्मक प्रतिक्रिया दिनुहोस्।
बच्चाको सानो-सानो उपलब्धिमा पनि हौसला दिनुहोस्।
-विद्यालयसँग सहकार्य गर्नुहोस्।
विद्यालय व्यवस्थापन र शिक्षकहरूसँग नियमित सहकार्य र समन्वय गरेर बच्चाको सिकाइमा साथ दिनुहोस्।
निष्कर्ष:
हामीले आजको युगमा केवल ‘सक्षम’ मात्रै होइन, ‘सचेत र सृजनशील’ बालबालिका तयार गर्नुपर्छ । त्यसका लागि हरेक बच्चाको बाैद्धिकता फरक-फरक हुन्छ भन्ने कुरा बुझ्नु अत्यावश्यक छ।
जब शिक्षण र अभिभावकीय व्यवहार बालबालिकाको बहुबाैद्धिकतालाई मध्यनजर गर्दै अगाडि बढ्छ, त्यतिबेला मात्र वास्तविक सिकाइ हुन्छ। जसले जीवनभर साथ दिने सीप र संस्कार दिन्छ।
हामीले अब विद्यालयको कक्षालाई केवल ‘किताब पढाउने’ कोठा नभई ‘प्रतिभा चिन्ने र बालबालिकाको समग्र विकासको थलो’ बनाउनुपर्छ।
अन्तमाः अक्षर चिन्ने तर आफूलाई नचिन्ने शिक्षालाई रूपान्तरण गर्दै अक्षर पनि चिन्ने र सबैभन्दा बढि आफूलाई चिन्ने शिक्षाको विकास गर्नु आजको परम आवश्यकता हो।
(चैतन्य नमस्कार)
गणेश जाेशी चैतन्य