काठमाडाैं । रसियन हाउस कमलपोखरीमा १८औँ पुस्तकालय दिवस २०८२ विविध कार्यक्रम गरी सम्पन्न भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हाे।
प्रमुख अतिथिका रुपमा बाेल्दै मन्त्री गुरुङले पुस्तकालय केवल किताब भण्डारण स्थल मात्र नभई समाजको समग्र विकासको केन्द्र हुनुपर्ने बताए।
आजको समयमा पुस्तकालयको भूमिका पुनः परिभाषित गर्नुपर्ने आवश्यक रहेको उने औँल्याए। उनले प्राचीनकालदेखि नेपालको पुस्तकालय इतिहास स्मरण गर्दै १८६९ सालमा जारी ‘पुस्तक चिताइ तहबिल’ लालमोहरलाई पहिलो कानुनी पुस्तकालयको आधार मानिएको जानकारी दिए।
मन्त्री गुरुङले जनचेतना, पठन संस्कृति, अनुसन्धान र सामाजिक रूपान्तरणका मेरुदण्ड मानिने पुस्तकालय सम्बन्धी अझै स्पष्ट नीति तथा कानुनको अभाव रहेकोमा ध्यानाकर्षण गराए।
दीर्घकालीन, प्रणालीगत र बहु आयामिक सुधार अपरिहार्य भएको भन्दै सरकारले एकीकृत पुस्तकालय ऐन निर्माण, बजेट व्यवस्थापन, पूर्वाधार विकास, डिजिटल रूपान्तरण र जनशक्ति विकासमार्फत पुस्तकालयलाई आधुनिक पूर्वाधार र प्रविधिसहित पुनर्निर्माण गर्नुपर्ने आवश्यकता समेत औँल्याए।
अठारौँ पुस्तकालय दिवसको अवसरमा विद्यालय शिक्षा महाशाखाका प्रमुख सहसचिव रुद्रप्रसाद अधिकारीको संयोजकत्वमा गठन भएको पुरस्कार छनौट समितिबाट सिफारिसका आधारमा नेपालभरका उत्कृष्ट योगदान पुर्याउने पुस्तकालय, पुस्तकालयकर्मी र पुस्तकालय अभियन्तालाई सम्मान गरिएको छ।
यस वर्षको उत्कृष्ट पुस्तकालयको सम्मान कोहलपुर-११, बाँकेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई प्रदान गरिएको छ।
उत्कृष्ट पुस्तकालय अभियन्ताको रूपमा काठमाडौँ-१४, कुलेश्वरका गृहमानसिंह श्रेष्ठ र उत्कृष्ट पुस्तकालयकर्मीको रूपमा गोकर्णेश्वर-७, जोरपाटीका जगदीश चन्द्र अर्याल सम्मानित भएका छन्।
रत्न पुस्तकालय, बानेश्वर, काठमाडौँले पुस्तकालय र सूचना विज्ञानमा उत्कृष्ट योगदान पुर्याउने पुस्तकालयको रूपमा सम्मानित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई ५० हजार नगद र कदर पत्रसहित महाकवि देवकोटा पुस्तकालय पुरस्कार, २०८२ प्रदान गरेको छ।
मूल समारोहका उपाध्यक्ष सहसचिव रुद्रप्रसाद अधिकारीले कार्यक्रममा स्वागत मन्तव्य दिँदै यस वर्षको पुस्तकालय दिवस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अगुवाइमा गठित मुख्य समारोह समितिको अनुरोधअनुसार देशभरका संघ, संस्था र निकायहरूले सक्रिय र सिर्जनात्मक रूपमा मनाइरहेको बताए।
वरिष्ठ पुस्तकालयविद् इन्दिरा दलीले २०७२ सालको भूकम्पपछि निर्माण हुन बाँकी रहेको नेपाल राष्ट्रिय पुस्तकालयको काममा अविलम्ब पहल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल सरकारसँग अनुरोध गरिन्।
उनले बाल्यावस्थादेखि पढ्ने बानी विकासका लागि राष्ट्रिय बाल पुस्तकालय स्थापना, वि.सं. २०७३ मा तयार पारिएको पुस्तकालय गुरु योजना कार्यान्वयन, सार्वजनिक र सामुदायिक पुस्तकालयलाई पाठकमैत्री बनाउने आवश्यकता औँल्याए।
पुस्तकालय दिवस