काठमाडौं । रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सात जनाको नाम सिफारिस गरेको छ।
जिल्ला कमिटी रूपन्देहीको भैरहवामा बसेको बैठकले पार्टी महासचिव घनश्याम भूसालसहित सात जनाको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो। भूसाल यसअघि २०७४ सालमा नेकपा (एमाले) बाट यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।
सिफारिसमा परेका अन्य नाममा लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रूपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ का सहइञ्चार्ज विजयलक्ष्मी राय रहेका छन्।
जिल्लाले सिफारिस गरेको सात नाममध्ये एक महिलासहित तीन जनाको नाम छनोट गरी केन्द्रीय समितिमा पठाउने जिम्मेवारी कार्यदललाई दिइएको छ। उक्त कार्यदलमा उपमहासचिव तथा प्रदेश इञ्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, जिल्ला इञ्चार्ज ई. नन्दलाल बन्जाडे र जिल्ला अध्यक्ष हीराध्वज शाह सदस्य रहेका छन्।
कार्यदलले सातै नामसंग छलफल गरी चुनावी रणनीति बुझ्ने र त्यसपछि मात्रै अन्तिम तीन नाम केन्द्रमा सिफारिस गर्ने जनाएको छ।
रूपन्देही–३ मा उपनिर्वाचन आगामी कात्तिक १७ गते हुँदैछ।
एकीकृत समाजवादी घनश्याम भूसाल