Logo
१७ भदौ २०८२, मंगलबार

उत्तर कोरियाका नेता किम रेल चढेर चीन यात्रामा

अक्षरपाटी
२०८२ भदौ १७ , मंगलबार ११:०९ मा प्रकाशित

काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन रेल चढेर चीन यात्रामा निस्केका छन्।

विदेश भ्रमणमा दुर्लभ रुपमा निस्कने नेतामा किम ६ वर्षपछि चीन भ्रमणमा निस्केका हुन्।

बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुन उनी चीनकाे बेइजिङका लागि हिँडेका हुन्।

चीन भ्रमणका क्रममा उनी चिनियाँ राष्ट्रपति सी जिन फिन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य विश्व नेताहरूसँग भेट गर्नेछन्।

दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार किमले मंगलबार आफ्नो बख्तरबन्द रेलमार्फत चीन प्रवेश गरेका छन्।

सन् १९५९ पछि पहिलोपटक कुनै उत्तर कोरियाली नेताले चिनियाँ सैन्य परेडमा उपस्थिति जनाएको हो।

रोचक के छ भने किम हवाई यात्रा गर्दैनन्। हवाईजहाजमाथि आक्रमण, दुर्घटना वा तोडफोडको खतरा बढी हुन्छ भन्ने डरका कारण रेल नै उनीहरु सुरक्षित मान्छन्।

किम जोङ उनका बुबा किम जोङ इललाई विशेष गरी हवाई जहाजको डर (एभियोफोबिया) थियो।

भनिन्छ, उनले १९८० को दशकमा एक पटक सोभियत संघतर्फ उडान गरेका थिए तर त्यतिबेलादेखि जहाज नचढ्ने गरेका थिए।

यो ‘परम्परा’ वा ‘आदत’ नै उत्तराधिकारमा आएको जस्तो देखिन्छ।

उत्तर कोरिया किम जोङ उन