Logo
१९ भदौ २०८२, बिहीबार

याैन उर्जाबाटै साहित्य, कला, संगीत र साधना प्रदीप्त हुन्छ : अनमोल

अक्षरपाटी
२०८२ भदौ १९ , बिहीबार ०६:०९ मा प्रकाशित

प्रेम सम्मान हाे, भराेसा हाे, यसकाे व्याख्या गर्ने शब्द हुँदैन

लीला अनमाेल नेपाली पूर्वी नेपालकाे सञ्चारजगतमा मात्र होइन नेपाली साहित्याकाशमा चम्मकँदै गरेकाे तारा हाे। सामाजिक सक्रियताबाट कहिल्यै नथाक्ने अनमाेल नलेखि बस्न नसक्ने लतकी आदी नै हुन्। आख्यान, कथा र कवितामा अब्बल दर्जाकाे कलम भएकी उनकाे पछिल्लाे ‘अन्तिम कुमारी रात’ कृति निकै रुचाइएकाे कविता संग्रह हाे। रेडियाे, अनलाइन, पत्रपत्रिकामा मात्र होइन, साहित्यिक, सांस्कृतिक र सामाजिक संस्थाकाे सक्रियताका शिलशिलामा उनले देशभर मात्र होइन देशपर पनि पाइला टेकेकी छन्। अनमाेलसँग अक्षरपाटीले गरेकाे अन्तरसंवाद:-

प्रश्न
यहाँका भूमिका अनेक छन, कुन भूमिका अब्बल लाग्छ आफैलाई ?

जवाफ-
अवस्था, ठाउँ र परिवेशअनुसार आफ्ना हरेक भूमिका सार्थक छन् भन्ने लाग्छ। जसका निम्ति म पूरापुरी जिम्मेवार बन्ने कोसिस गर्छु। सतप्रतिशत दिने कोसिस गर्छु। मैले बहन गरेका हरेक भूमिका मेरा निम्ति महत्वपूर्ण हुन्छन्। प्रिय लाग्छन्।

प्रश्न-
एकाबिहान तपाईं बुहारी, आमा, त्यसपछि रेडियोको सञ्चारिका, दिउँसो तपाईँ सामाजिक अभियन्ता र एउटा अब्बल ट्रेनर, साँझ फेरि गृहिणी ! तपाईंसँग समय बढी हो या कुनै सूत्र छ समय व्यवस्थापन गर्ने ?

जवाफ-
जहाँ इच्छा, त्यहाँ उपाय भन्ने उक्ति मलाई साँचो लाग्छ। जीवनमा सफलता हासिल गर्नु छ भने समयको व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्ने रहेछ। मलाई यो समाज समृद्ध भएको हेर्ने रहर छ। जसका निम्ति म पनि एक जिम्मेवार नागरिक हुँ। अरुले गरिदिन्छ र म गौरव गरुँ भन्ने भावनाबाट म मुक्त छु। तसर्थ मैले गर्नुपर्छ भन्ने प्रतिबद्धता र जिम्मेवारी बोध गर्नेहरुलाई समय जुटाउन खासै गाह्रो हुन्न। आत्मविश्वास सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

प्रश्न-
यींमध्ये तपाईँलाई मनपर्ने भूमिका अथवा आफ्नो स्वरूप चाहिँ कुन हो ?

जवाफ-
मैले आजसम्म अवलम्बन गरेका प्राय विषयहरू आफ्नै इच्छा रहर र जिम्मेवारीका अमरबुटी हुन्। जसको आ-आफ्नै भूमिका र औचित्य छ, यो समाजमा। मैले जिम्मेवारीपूर्वक अँगालेका प्रत्येक विषय गहन र आवश्यकीय छन्। म हरेक रुपमा अब्बल देखिन चाहन्छु। लिएका हरेक चुनौतीबाट म सन्तुष्ट पनि छु।

प्रश्न-
तपाईँ लेखिका, कवि पनि । यसका लागि शान्त र एकान्त चाहिन्छ भनिन्छ, तपाईँ कुन मुड र परिवेशमा सिर्जना गर्नुहुन्छ साहित्य ?

जवाफ-
विशेषगरी म रात्रीको समयमा ज्यादा लेख्ने, पढ्ने गर्छु। मलाई लेख्नुपर्छ भनेर लागेपछि एकान्त खोजेर लेख्न बस्छु। दिउँसोभरि काममै व्यस्त हुने भएकाले बेलुका ९ बजेपछिको समय हो मेरो लेख्ने । तर आजभोलि विभिन्न मोबाइल एप्सहरूको सुविधा भएकोले आएका फिलिङ्सहरुलाई कि त नोट गर्छु, कि त भोइस रेकर्ड गरिराख्छु । अनि बेलुका फुर्सदको समय साहित्य बुन्ने कोसिस गर्छु। तर लेख्नका लागि चाहिँ यो मुड उपयुक्त हो भन्ने हुन्न। जहाँ जतिबेला पनि फुर्न सक्छ, लेख्न सकिन्छ।

प्रश्न-
तपाईंको सिर्जनामा विद्रोहको बयान देखिन्छ, असन्तुष्टिको आगो पोख्नुहुन्छ, परिवर्तनको संखनाद गर्नुहुन्छ, चिन्नेहरूले त तपाईँलाई प्रेमील मन भएकी नारीका रुपमा चिन्छन, सिर्जना र जीवनको तादाम्यता के हुँदैन र ?

जवाफ-
म पनि यही समाजकै पात्र हुँ। जहाँ सफलता, असफलता, अभाव, गरिबी, बिछोड, क्रन्दन, हत्याहिंसा, बलात्कार, डकैती, भ्रष्टाचार सबै सबै छन्। अनि अर्को मनभित्रबाट हेर्ने हो भने सुख पनि छ, प्रेम पनि छ। यी सबै-सबै थोकहरु भित्रै म भएपछि आफूभित्र हरेक भाव आउनु स्वाभाविक छ।

यी त मानवीय गुण नै हुन्। फरक यति हो म लेखक भएका कारण साहित्यमा उतार्छु र त्यो अरुहरूका निम्ति किसिम किसिमको रस बन्न सक्छ। तरङ्ग बन्न सक्छ। कहिले विद्रोही जस्तो देखिने, कहिले प्रेमिल देखिन सक्छ । कहिले दार्शनिक लाग्छ, त कहिले योगी, ध्यानी, तपस्वी जस्तो पनि लाग्न सक्छ । यो आफूले बाँचेको युगको बोध हो, बयान हाे। त्यही जीवन बोध नै साहित्य हो। यस अर्थमा सृजना र जीवनको तादम्यता बडो गजब छ।

प्रश्न-
अन्तिम कुमारी रात तपाईंको बजारमा आयो चर्चा पनि राम्रै भयो, त्यसअघि कि सर्जक अनमोल र त्यसपछि कि सर्जक अनमोलमा केही भिन्नता पाउनुहुन्छ ?

जवाफ-
मलाई खासमा कहिले कुनै कुराले आफू अरुभन्दा भिन्न लागेन। अनि अरुभन्दा पनि भिन्न नलागेपछि आफ्नै परिवर्तित अवस्थाहरूबाट भिन्न लाग्ने झन् कुरै भएन। मान्छेको विचारमा फेरबदल हुन सक्ला तर जिम्मेवारी बोध गर्ने र यो संसारको गतिशीलतालाई मनन् गर्नेहरूले हरेक कुराहरुलाई स्वीकार गर्ने हिम्मत राख्छन्। जहाँ दुःख-सुख सबै हुन सक्छ । पाएका सफलताहरुलाई शक्ति ठानेर भएका कमजोरीहरुलाई सिकाइ सम्झेर सुधार गर्दै जानुपर्छ । तसर्थ मैले गरेका कर्मबाट जे प्राप्त गर्छु त्यो शक्ति ठान्छु। तर त्यस्तो फरक चाहिँ केही लाग्दैन।

प्रश्न-
जीवनको यति वर आधा संघारमा आइपुग्दा जीवन के हो जस्तो लाग्छ ?

जवाफ-
जीवनलाई परिभाषा गर्ने थुप्रै पाटाहरू छन् । म अध्यात्ममा पनि रुचि राख्ने भएका कारण जीवन शरीर र आत्माको संयुक्त यात्रा हो भन्ने लाग्छ। जहाँ सुख-दु:ख, जन्म, मृत्यु सबै अनुभूत गर्दै मानिसले सत्य, शान्ति र ज्ञान खोज्दछ।

जीवन जीवन्त चेतनाको अमर यात्रा हो। केवल खानु, सुत्नु र बाँच्नु मात्र जीवन होइन। प्रेम, करुणा ,आत्मज्ञान र सत्यको खोज नै जीवन हो

जीवन जीवन्त चेतनाको अमर यात्रा हो। केवल खानु, सुत्नु र बाँच्नु मात्र जीवन होइन। प्रेम, करुणा ,आत्मज्ञान र सत्यको खोज नै जीवन हो जस्ताे लाग्छ मलाई। दार्शनिक दृष्टिले हेर्ने हो भने- जीवन आफूले रोजेको विषय र उद्देश्य हो। सक्रियता भित्र सफलताको अर्को नाम हो। जीवनलाई यति थोरै शब्दमा परिभाषित गर्न कहाँ सकिन्छ र ? यसको कुनै शाब्दिक परिभाषा नै छैन खासमा। जसले जसरी बाँचेको हुन्छ उसले त्यसरी नै आफ्नो अवस्था अनुसार परिभाषित गर्दछ जीवनलाई।

प्रश्न-
जीवनको यो अनवरत यात्रामा अनपेक्षित मान्छे भेटिए होलान्, अनपेक्षित मान्छे भेटिए होलान्, तीं सम्झना र तिक्तताबारे केही बोल्नुहुन्छ ?

जवाफ-
जीवन सोचेजस्तो मात्र कहाँ छ र ? कहिले एक सोच्यो अर्को हुन्छ। यतिबेला मलाई जिन्दगी नमिलेको चिज हो कि भनिदिनु जस्तो पनि लाग्छ । चाहेका कति कुरा हुँदैनन् । नचाहेका कति कुरा भइदिन्छन्। कहिले एक निमेश आफूले चाहेजसरी बिताउन सकिँदैन, कहिले नचाहेकै अवस्थामा हप्ताैँ गुजार्नुपर्छ।

जिन्दगी यात्रा पनि त हो नि । जहाँ सोचेका, नसोचेका थुप्रै पात्रहरू भेटिन्छन्। मलाई कसैसँग भेटेर ऊसँग चाहिँ बेकार भेट भएको भन्ने नै कोही पात्रै छैन। जो जोसँग जसरी जसरी भेट भयो तिनीहरुले मलाई जिन्दगी सिकाएर गए । आज भोलि त मलाई भेटिएका हरेक पात्रहरूसँगको भेट उत्सव झैँ लाग्छ। त्यसमा पनि मेरो हृदय छोएर बस्नेहरु त झनै सम्झिरहने नै भएँ । मलाई उहाँहरूको सद्भाव, प्रेम र अपनत्वले बडो छुन्छ । अंगालीरहन्छ । कहिले भावुक बनाउँछ, कहिले गम्भीर, कहिले बालापनजस्तो चुलबुले त कहिले किशोर अवस्थाजस्तो रहर लाग्दो।

प्रश्न-
अन्ततः प्रेम के रहेछ ?

जवाफ-
प्रेम अरुलाई खुसी दिँदा आफैलाई पूर्णताको महसुस हुने शक्ति हो। आत्माको उचाइ हो प्रेम। मनकाे उत्सव पनि । यसलाई हरेक ढंगले व्याख्या गर्न सकिन्छ। प्रेमको व्याख्या गर्न शब्दको कमी हुनसक्ला। यो मनको गहिरो भाव, स्नेह र आत्मीयताको अभिव्यक्ति हो। प्रेम एकलाई अर्कोसँग बाँध्ने शक्ति हो । यसले आत्मालाई शान्ति, सम्बन्धलाई गहिराई र एकअर्काप्रति समर्पणको भाव जन्माउँछ। यसले लिने भन्दा दिने कुराको सक्रियतालाई भरोसा गर्दछ।

प्रेम सम्मान हो, भरोसा हो, उत्साह हो र याे विश्वास हो। जीवनलाई गतिशील र सृजनात्मक बनाउने तत्व हो प्रेम । जीवनको विशिष्ट लय हो प्रेम ।

प्रेम सम्मान हो, भरोसा हो, उत्साह हो र याे विश्वास हो। जीवनलाई गतिशील र सृजनात्मक बनाउने तत्व हो प्रेम । जीवनको विशिष्ट लय हो प्रेम । जब मान्छेभित्र प्रेमको संचार हुन्छ ऊ भावुक बन्दछ। अनि भावुकताले करुणा पैदा गर्छ। करुणाले सद्भाव जन्माउँछ। प्रेम हिंसाभन्दा धेरै माथि छ । यसले त्यागी भावनाको विकास गर्छ। उपनिषदमा भनिएको छ – आत्मा नष्ट काम आय सर्वप्रियम भवती अर्थात् सबै प्रेम आत्माका लागि हुन्छ। आत्मालाई नै सबैभन्दा प्रिय ठानिन्छ। पूर्वीय दर्शन चिन्तनमा आत्मा सदा जीवित रहने मान्यता अनुसार प्रेम आत्माको ध्वनि हो भन्न मिल्दछ। यसको व्याख्या वृहत छ । अन्त्यमा भन्नुपर्दा प्रेम एवं मन्त्र, प्रेम एवं तन्त्र, प्रेम एवं जीवन सौन्दर्य । अर्थात् प्रेम नै मन्त्र हो। प्रेम नै तन्त्र हो। प्रेम नै जीवनको सुन्दरता हो।

प्रश्न-
जीवनको ढुंगा खियाउँदा वा प्रेमको उडानमा यौनको अर्थ कहाँनिर देख्नुहुन्छ ?

जवाफ-
यौन शरीरको आवश्यकता हो। यसले मानिसलाई स्वस्थ बनाउँछ। ऊर्जा भर्दछ। जाँगर उमार्दछ। यो शारीरिक, जैविक र भावनात्मक पक्षसँग सम्बन्धित छ। यौनले मानिसमा शारीरिक मिलन मात्र होइन मानिसको भावना इच्छा, आकर्षण, आत्मीयता र आनन्दीसँग सम्बन्ध राख्दछ ।

ओशोले भन्नुभएको छ कि- यौन केवल शरीरको तृष्णा र इन्द्रिय सुख मात्र होइन, यो त जीवनको आधारभूत ऊर्जा हो। जब उर्जा सन्तुलित हुन्छ अनि ध्यानमा रुपान्तरण हुन्छ । यही उर्जाबाट साहित्य, कला, संगीत, प्रेम, ध्यान र आध्यात्मिकता जन्मिन्छ।

सांस्कृतिक हिसाबले पनि यौन सृष्टि सञ्चालनको एक दर्बिलो शक्ति हो। आधार हो। तान्त्रिक परम्परामा पनि यसलाई आध्यात्मिक उचाइमा पुर्‍याउने ऊर्जाको रुपमा बुझिन्छ। यौन केवल इन्द्रिय सुखमा मात्र सीमित नभई आत्माको मिलन र ऊर्जा रूपान्तरणमा प्रयोग हुन्छ। ओशोले भन्नुभएको छ कि- यौन केवल शरीरको तृष्णा र इन्द्रिय सुख मात्र होइन, यो त जीवनको आधारभूत ऊर्जा हो। जब उर्जा सन्तुलित हुन्छ अनि ध्यानमा रुपान्तरण हुन्छ । यही उर्जाबाट साहित्य, कला, संगीत, प्रेम, ध्यान र आध्यात्मिकता जन्मिन्छ। यदि सचेत भएर प्रेम र आत्मीयतालाई यौनसँग अनुभव गरियो भने त्यो बिस्तारै ध्यान र समाधिमा रूपान्तरण हुन्छ। यौन पवित्र छ। किनभने यसैबाट जीवन जन्मिन्छ। यो प्रेम र चेतनासँग जोडियो भने जीवनको उच्चतम अनुभव प्राप्त हुन्छ। मैले पनि जीवनभित्र यौनलाई यसरी नै बुझेकी छु।

प्रश्न-
पाठकले अब पाउने अनमोलको अनमोल सिर्जना के हो ?

जवाफ-
अब निस्कने कृति आख्यान (उपन्यास) हुनेछ। जसलाई तयार गर्न केही समय लाग्ला । म नलेखि बस्नै सक्दिन। तसर्थ हरेक विषयमा फुटकर साहित्य लेखिरहेकै हुन्छु।