धनगढी । गोदावरी नगरपालिकाको चौकीडाँडा–फल्टुडे सडक खण्ड निर्माणमा लामो ढिलाइ भएपछि स्थानीय जनप्रतिनिधिहरू आन्दोलनमा उत्रिएका छन्। ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण छ वर्षदेखि सडक निर्माण कार्य अघि नबढेपछि वडा नं. ३, १०, ११ र १२ का वडाध्यक्षहरूले सडकमै कार्यालय सञ्चालन गर्ने निर्णय गरेका हुन्।
वडा नं. १० का अध्यक्ष रविन्द्र शाही (गुड्डु) का अनुसार दुई दिनसम्म सडकमै कार्यालय सञ्चालन गरिने र त्यसपछि अत्तरियामा सडक आन्दोलन गर्ने तयारी भइरहेको छ। उनका अनुसार यसअघि जिल्ला प्रशासन र भौतिक पूर्वाधार कार्यालयमा पटक–पटक ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएको हो।
सडक नहुँदा स्थानीयले गम्भीर समस्या भोग्दै आएका छन्। भारतमा कमाइ गरेर अटो ल्याउनेहरू पाँच महिनामै गाडी बिग्रने समस्यामा परेका छन्। गर्भवती महिलाले बाटोमै बच्चा जन्माउनुपर्ने, सर्पदंशका पीडितलाई समयमै अस्पताल पुर्याउन नसकिने जस्ता दुःखद घटना दोहोरिँदै आएका छन्। ओलानी क्षेत्रमा मात्रै प्रत्येक वर्ष सर्पदंशका कारण ५–७ जनाले ज्यान गुमाउने गरेका छन्। उचित सडक नहुँदा धेरै युवा रोजगारीका लागि फेरि भारत फर्कन बाध्य भएका छन्।
चौकीडाँडा–फल्टुडे सडक निर्माणको ठेक्का एडवान्जर थिगीम जेभी र तेडी निर्माण सेवाले लिएको भए पनि काम नगरेको आरोप जनप्रतिनिधिहरूले लगाएका छन्। समयमै सडक बनेको भए यातायात, स्वास्थ्य सेवा र रोजगारी सहज हुने मात्र होइन, सामाजिक रूपान्तरणमा ठूलो योगदान हुने अपेक्षा गरिएको थियो।
सडक आन्दोलनलाई प्रदेश सांसद तुलसी देवकोटा र गोदावरी नगर प्रमुख विरेन्द्र भट्टले पनि ऐक्यबद्धता जनाएका छन्। सांसद देवकोटाले बजेट छुट्टिए पनि छ वर्षसम्म काम अघि नबढ्नु ठेकेदारको चरम लापरबाही भएको बताउँदै तत्काल प्रदेश सरकारले अनुगमन गरी निर्माण कम्पनीसँग छलफल गरेर काम छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिइन्।
नगर प्रमुख भट्टले आन्दोलन जायज रहेको स्वीकार गर्दै समस्या समाधानका लागि मुख्यमन्त्री र जिल्ला प्रशासनसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार सडक निर्माण सम्पन्न गर्न वार्ता र दबाब दुवै माध्यम अपनाइनेछ।
वडा नं. ११ का अध्यक्ष प्रेम सिंह बडैलाले सडकबाटै कार्यालय सञ्चालन गर्नु बाध्यता भएको स्पष्ट पार्दै सम्बन्धित निकायले जिम्मेवारीप्रति बेवास्ता गरेको आरोप लगाए। उनले तत्काल गुणस्तरीय ढंगले सडक निर्माण सम्पन्न गर्न आग्रह गरे।
स्थानीयवासीले भने सडक निर्माण सम्पन्न नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
चौकीडाँडा–फल्टुडे सडक चौकीडाँडा–फल्टुडे सडक निर्माणमा ढिलाइ