पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपांगता भएका व्यक्तिहरुलाई सक्षम बनाउन जरुरी रहेको बताएका छन्।
उनीहरुलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु आजको मुख्य दायित्व रहेको उनको भनाइ छ।
नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा शनिबार भएको ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेको उल्लेख गरे।
‘समाजमा अपांगता भएका व्यक्तिहरुप्रति गरिने व्यवहार अझै सम्मानजनक नभएको तीतो यथार्थ हामीसामु छ। मुलुकमा दशकौँदेखि व्याप्त रुढीवादी, अन्धविश्वास र भेदभावलगायतका कारण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले न्यूनतम मानवअधिकारको उपभोग गर्न पाइरहेका छैनन् ,’ उजले भने।
रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्न जरुरी रहेकोमा उनले जोड दिए।
अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेको बताए।
संघको साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै उनले दृष्टिविहीन समुदायको कल्याण र उनीहरुको हक अधिकार स्थापित गर्न उल्लेखनीय कार्य गर्ने मार्गचित्र छलफलबाट तयार हुनेमा आशावादी रहेको उल्लेख गरे।
२०३८ सालमा नेपाल अन्धा कल्याण केन्द्र स्थापना भएकोमा नाम परिवर्तनसँगै २०४२ सालदेखि दृष्टिविहीन कल्याण संघ गैरनाफामुखी संस्थाका रुपमा अघि बढेको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल नेत्रहीन संघ, दृष्टिविहीन अभिभावक संघ नेपाल जस्ता एकै उद्देश्यका साथ स्थापित संस्थाहरू एक आपसमा सहकार्य गरी अघि बढ्न पनि प्रदेश प्रमुख भट्टले सुझाव दिए।