Logo
२४ भदौ २०८२, मंगलबार

जेनजी पुस्ताको मागप्रति संवेदनशील बन्न सरकारलाई नेता महरको आग्रह

अक्षरपाटी
२०८२ भदौ २३ , सोमबार ०३:०९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काठमाडौंलगायत देशका विभिन्न स्थानमा युवा पुस्ता (जेनजी) को नेतृत्वमा भइरहेका आन्दोलनको माग प्रति संवेदनशील बन्न सरकारसंग आग्रह गरेका छन।

नेता महरले सरकारलाई अभिभावकीय भूमिका खेलेर जिम्मेवार बन्न र आन्दोलनकारीका मागहरूलाई सम्बोधन गर्न आग्रह गरेका छन्।

लोकतान्त्रिक व्यवस्थामा आफ्ना संवैधानिक अधिकारका लागि शान्तिपूर्ण रूपमा आवाज उठाउनु नागरिकको नैसर्गिक अधिकार भएको स्मरण गराउँदै महरले तर आन्दोलनमा हिंसा र घुसपैठ हुनु दुखद भएको बताए।

उनले जेनजीको आन्दोलनलाई संवादबाट समाधान गर्नुको साँटो सरकारले निर्ममतापूर्वक दमनको रबैया अपनाएकोप्रति असन्तोष व्यक्त गरेका छन्।

उनले घाइतेहरूको अविलम्ब निःशुल्क उपचारको व्यवस्था गर्न र आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग मागसमेत गरे।

देशको भविष्य, सुशासन र न्यायका लागि युवा पुस्ताले उठाएका आवाजलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा उल्टै दमनमा उत्रनु दुःखद भएको महरले बताए।

‘सरकारले अभिभावकको भूमिका निर्वाह गर्दै उनीहरूका माग सम्बोधन गरी भविष्यप्रति आशा जगाउनुपर्छ,’ उनले भनेका छन्।

सरकारलाई आन्दोलनरत पक्षका जायज मागहरूलाई बेवास्ता नगरी तत्काल वार्ताको माध्यमबाट समस्या समाधानका लागि पहल गर्न उनले आग्रह गरे।

साथै, महरले आन्दोलनरत पक्षलाई पनि संयमित र शान्तिपूर्ण रहन आह्वान गरेका छन्।

उनले नेपाली कांग्रेस सदैव नागरिक अधिकार र लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धतासमेत व्यक्त गरे।

नैनसिंह महर