o बलदेव थापा
हजुरबाको नाकमा झिंगा बस्यो कि हम्कि हाल्ने
मै हो सबैभन्दा जान्ने भन्छु चम्कि हाल्ने
अनुहारको कालो देख्नै नहुने मुख धोउ भन्ने
अली भद्दा चुट्किला भन्छु सभ्य होउ भन्ने
यो भएन भन्ने ऊ भएन भन्ने
मेरो गल्ती मात्र गन्ने
अनि मेरो खोइरो मात्र खन्ने
अनि यस्ता नातीहरुलाई मैले गोली नहानेर के हान्ने ?
ठाउँको ठाउँ खुत्रुकै नपारेर के गर्ने ?
मैले बाचुन्जेल मात्र यो कुर्सीमा बस्छु भनेको न हो
त्यसैका लागि कति वर्ष बाँच्छु भनि गनेको न हो
बाको सम्मान गर्नुपर्छ है नानिबाबु भन्छु
खाली विरोध मात्र गर्छन अनि कहाँ सहन्छु
यो नगर भन्ने ऊ नगर भन्ने
मैले जे बोलेनी नराम्रै मान्ने
मलाई नाङ्गै नहिँड न बा भन्ने
यस्ता नातिनातिनीहरुलाई मैले गोली नहानेर के हान्ने ?
ठाउँको ठाउँ खुत्रुकै नपारेर के गर्ने ?
एउटा सानो झुपडी छ त्यसैको विरोध
रेलनै दैडाउँछु भन्छु सँधैको अवरोध
आफ्ना भक्तहरुलाई कृपा गरेको न हो
बिराेधीहरुलाई यसो कारबाही गरेको न हो
यो खत्तम भो भन्ने ऊ खत्तम भो भन्ने
नातिहरु आफू मात्र जान्ने
नातिनाहरु आफू मात्र सुन्ने
अनि यिनीहरुलाई मैले गोली नहानेर के हान्ने ?
ठाउँको ठाउँ खुत्रुकै नपारेर के गर्ने ?
कराएर मात्र नपुगेर आन्दोलन गर्ने
स्कुल कलेज नगएर सडकै भर्ने
कलिला बच्चाहरु सुशासन देऊ भन्छ
निदाउने ठाँउ बानेश्वरमै ब्युँझाउन जान्छ
कहिले गिज्याउने कहिले होच्याउने
म जेनजी हुँ भन्दै हिड्ने
हुँदा हुँदा बा संग भिड्ने ?
म सँग भिड्नेहरुलाई मैले गोली नहानेर के हान्ने ?
ठाउँको ठाउँ खुत्रुकै नपारेर के गर्ने ?