Logo
२५ भदौ २०८२, बुधबार

म बथानबाट बिछुडीएको भेडो

अक्षरपाटी
२०८२ भदौ २५ , बुधबार ०९:०९ मा प्रकाशित

० डीआर पन्त

बथान बाट बिछुडीएको
म एक्लो भेडो
नयाँ बथान खोज्दै
नयाँ गोठ खोज्दै
ठिङ्ग उभिएको छु,
घाँसका तिनारा मुख भित्रै छन
न निल्नु, न ओकल्नु ?

मालिक बेपत्ता छन्
गोठ जलिसकेको छ
बथानका सबै संङ्गी भेडाहरु
नयाँ बथानमा मिसिइसके
नयाँ मालिकको गोठ भित्र

म बथानबाट बिछुडीएको भेडो
कहिले आगो लागेको गोठतिर हेर्छु
कहिले मालिक भागेको बाटो नियाल्छु
नयाँ नयाँ भेडाहरुको बथानतिर हेर्छु
उनीहरुको रजगज देख्छु

अनि सोच्छु
मालिक पो परिवर्तन भए
हामी भेडा त भेडा नै हौं
हिजो पनि भेडा, आज पनि भेडा
भोलि पनि भेडा
मालिकहरुले जसरी चराए
जहाँ चराए
चर्ने हो ।

भेडासँग चेतना हुँदैन
काटिइने दिन पर्खनु बाहेक
अर्को लक्ष्य हुँदैन
हिजो कस्ले काटे
आज को काट्दैछ
भोलि को काट्ने हो, यकिन हुँदैन
म बथानबाट बिछुडीएको भेडो