Logo
२४ असार २०८३, बुधबार

पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीसँग पाँच लाख र भण्डारीसँग एक लाख धरौटी माग

अक्षरपाटी
२०८२ मंसीर २३ , मंगलबार ०८:१२ मा प्रकाशित

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। तर उनले धरौटी बुझाएनन्। धरौटी बुझाए पनि तत्काल थुनामुक्त हुन नपाउने अवस्थामा अधिकारी छन्।

अदालतले भनेको छ, ‘आजको थुनछेक आदेशमा प्रतिवादी प्रदीप अधिकारीलाई ५ लाख धरौटी माग भएकोमा निज प्रतिवादी अर्को मुद्दामा थुनामै रहेको र आजको इजलासबाट माग भएको धरौटी रकम नबुझाएकोले थुनामै पठाइएको छ।’

अर्का प्रतिवादी मुरारी भण्डारीलाई १ लाख धरौटी माग भएकोमा धरौटी रकम बुझाएर उनी भने रिहा भइसकेका छन्।

मङ्गलबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा भएको थुनछेक बहसमा अधिकारीसँग ५ लाख र प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीसँग १ लाख रुपैयाँ धरौटी माग गरी रिहा गर्न आदेश दिएको थियो।

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी र भण्डारीसहित कुल ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। यो मुद्दामा उनीहरूसँग ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ।

विशेष अदालतले आइतबार नलिनचोक हेलिपोर्ट भ्रष्टाचारमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि उनी डिल्लीबजार कारागारमा छन्। हेलिपोर्ट भ्रष्टाचारमा अधिकारीसहित ६ जना प्रतिवादीसँग १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आरोपपत्र दायर गरेको थियो।

यसअघि, पूर्वनिर्देशक मुरारी भण्डारी भने नलिनचोक हेलिपोर्ट मुद्दामा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

पोखरा विमानस्थल