o शिवराज याेगी
जेन जी पुस्ताले भदौ २३ मा गरेको ‘शान्तिपूर्ण आन्दोलन’मा राज्यले क्रुरतापूर्वक दमन गर्यो।
बाजे पुस्ताले नेतृत्व गरेको सरकारको आदेश पालना गर्दै ‘बा’ पुस्ताका गृहमन्त्रीले स्कुले पोशाकसहितका छोराछोरी पुस्ताका छातीमा गोली ठोक्न लगाए।
अमानवीय, संवेदनाहीन र क्रुर दमनको परिणाम भदौ २४ गते सिंगो देश आगोको लप्कामा बेरियो।
भ्रष्टाचारको अन्त्य, सुशासन र सामाजिक सञ्जाल बन्दको बिरोधमा उत्रिएका छोरा-नाती पुस्ताका १९ जनाको हत्या (अहिले ३० पुगिसक्यो)प्रति सरकारले थोरै पनि संवेदना देखाएन।
‘जे भयो, नहुनु भयो’ भन्दै सरकारले समझदारीको सम्बोधन मात्रै गरेको भए पनि भदौ २४ ननिम्तिने अनुमान गर्न सकिन्छ। तर हठ र घमण्डले चूर सरकारले त्यसो गर्न अनिच्छा देखायो।
जसको परिणाम प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकसहितले सत्ता छोडेर भाग्नु मात्र परेन, अहिले पनि बाहिर निस्कनै नसक्ने गरी अज्ञात स्थानमा लुकेर बस्नुपरेको छ।
नेताका घर मात्रै जलेनन्, जीवनभर संघर्ष, सम्मान र पदको उँचाइमा बाँचेकाहरुले नाती पुस्ताको हातबाट पिटिनुपर्यो। लखेटिनु पर्याे। त्यही लपेटमा कैयौँ निजी सम्पत्ति र व्यवसाय पनि खरानी भए। देशका ऐतिहासिक र प्रशासनिक निकायको नक्शा बदलियो।
खैर यी संरचनाहरु त भ्रष्टहरुको सम्पत्ति राष्ट्रियकरण गरेर फेरि ठड्याउन सकिएला।
तर घटनाक्रमको परिणाम आज देश सरकारविहीनताको अवस्थामा छ। त्यति मात्र होइन, अब देश कुन मोडमा पुग्ने हो भन्ने चिन्ता समेत जन्माएको छ।
अबस्था यस्तो आउनुको कारण को त ? २०४६ सालदेखि यो देश बनाउँछु भनेर लागेकाहरु जो पटक पटक सरकार र पार्टीको केन्द्रमा रहे- कारण उनै बने।
देश बनाउन हिँडेकाहरुले ‘बर्बाद’ बनाएको आक्रोसको परिणम आज उनीहरु सत्ताबाट लखेटिए, घरबाट खेदिए, अकुत सम्पत्ति थाकका थाक घरभित्र थुपारेको दृश्यले जनताको नजरबाट पनि खस्किए।
देश बनाउन हिँडेकाहरुले ‘बर्बाद’ बनाएको आक्रोसको परिणम आज उनीहरु सत्ताबाट लखेटिए, घरबाट खेदिए, अकुत सम्पत्ति थाकका थाक घरभित्र थुपारेको दृश्यले जनताको नजरबाट पनि खस्किए।
बिडम्बना ! यो सत्य बुझेर पनि उनीहरु बरु कुनै दुलोमा लुकेर बस्न तयार छन्, तर पार्टी सत्ता (नेतृत्व) छोड्न मन्जुर छैनन्। पदमा टाँसिरहन अझै लोलुप छन्।
एउटा घरमा बुहारी भित्रिएपछि वा छोरा सक्षम भएदेखि बाबु र आमाले घरको जिम्मेवारी छोरा बुहारी सुम्पने नेपाली सँस्कार हो हाम्रो। त्यही सँस्कारअनुसार उनीहरुले भन्नुपर्ने हाे- अब हामीले गरेको मिलेन, आउ युवा तिमीहरु पार्टी सम्हाल।
यस्तो सँस्कारबाट हुर्किएर पनि सँधै ‘किलो ओगटेर बस्ने’ दम्भी अडानले घर जलेर खरानी हुँदा र इज्जत बगेर नालीमा मिसिँदा पनि पार्टीका बयोवृद्धहरुको अझै चेत खुलेको देखिँदैन, बरु उनीहरु हरसम्भव उपाए लगाएर छोरानाती पुस्ताले चाहेको र गर्न खोजेको परिवर्तनलाई रोक्ने दुस्साहसमा छन्।
त्यो किन त ? त्यो किन भने यदि नयाँ जेन-जी पुस्ताले चाहेको र अघि सारेअनुसारको माग पुरा भयाे, नेतृत्व आयो र काम गर्यो भने उनीहरुका अहिलेसम्मका कर्तुत खोलिने छन्।
धोती न टोपी मात्र होइन कैयौँको कालकोठरीको बास हुनेछ। यो भयो ‘बरु जेसुकै होस, पार्टी पद छोड्नै हुन्न’ भन्ने बयोवृद्ध नेताको कुरा।
पार्टीको युवा पुस्ता आज पनि उस्तै लाछी, झोले, चम्चे र चाकर मनोविज्ञानबाट मुक्त हुन नसकेको सत्यका केही उदाहरण यहाँ पेश गर्न सकिन्छ।
पार्टीको युवा पुस्ता ! पार्टीको युवा पुस्ता आज पनि उस्तै लाछी, झोले, चम्चे र चाकर मनोविज्ञानबाट मुक्त हुन नसकेको सत्यका केही उदाहरण यहाँ पेश गर्न सकिन्छ।
माओवादीका केन्द्रका आसलाग्दा युवा नेता माधव सापकोटाको अभिव्यक्तिलाई लिउँ। उनले समाजिक सञ्जालमा लेखेका छन्,’हामीले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जनताका माझ ल्याउन खोज्यौँ, जंगी अड्डाले निस्कन दिएन।’
पुष्पकमल करिब साढे तीन दशकदेखि ‘बरु सबैलाई लखेटेर पार्टी ओगटेर’ बसेका नेता हुन्। सापकोटाजस्ता आफूलाई युवा भन्नेले नेतृत्वको दासत्व स्वीकारेर बसे पनि आजको जेन-जीमा त्यस प्रवृतिप्रति वितृष्णा छ।
त्यसो हो भने सापकोटा जत्तिको आसा गरेको युवा पुस्ताले यस्तो विसम परिस्थितिमा ‘अब तपाईँहरुको पुस्तालाई नयाँ पुस्ताले विदाइ गर्न चाहेको छ, हामी नेतृत्व गछौँ’ भन्ने आँट किन गर्दैन?
अनि तपाईँहरुबाट परिवर्तन सम्भव छ भनेर नयाँ पुस्ताले विश्वास कसरी गरोस। यो उदाहरण मात्रै हो।
एमालेका नेता योगेश भट्टराईले पार्टीभित्र र नेतृत्व सामु खोल्न र बोल्न नसकेका तमामौँ जायज विषयहरु पार्टी नेतृत्व भागेर लुकेको मौकामा जेन-जी आन्दाेलनपछि फेसबुकमार्फत सार्वजनि गरे।
त्यति धेरै सुधारका आवश्यकता जान्दा जान्दै हिँजोका दिनमा त उनी बोल्न सकेनन्, अहिले त समय र यो पुस्ताको माग योगेशजस्तै युवा थियो ।
उनले किन भन्न सकेनन्,’अब तपाईँहरुजस्ता बयोवृद्ध, जसले दशकौँदेखि पार्टी र सत्ताको मियो समातेर मह चाटिरहनुभयो, अहिलेको पुस्ताबाट तपाईँहरु लखेटिनुभयो, अब हामी सम्हाल्छौँ।’ याेगेश मात्र हाेइन एमालेका युवा नेता कुनै पनि आँट भएको भन्दा दासत्वमै रमाएका सावित भए।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्माले पनि अहिलेसम्म त्यसरी हस्तक्षेप गरिहाल्ने आँट देखाउन सकेका छैनन्। गगनले कम्तिमा आफूले गरेका प्रयासको फेहरिस्त सुनाउँदै प्रयास गरेको र गरिरहेको तर सक्दै नसकेकोमा कम्तिमा क्षमायाचना गरे।
हो, लोकतन्त्र, विधि र संविधानको विकल्प सोच्न सकिँदैन। सम्झौता हुनुहुँदैन तर यो जटिल र संक्रमित अवस्थामा कम्तिमा पार्टीको युवा नेता हुँ भन्नेहरुले समय र आवश्यकताको सिद्धान्तअनुसार नेतृत्व हामी लिन्छौँ भन्ने हुँकार गर्नुपर्ने हो।
अँह, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्माले पनि अहिलेसम्म त्यसरी हस्तक्षेप गरिहाल्ने आँट देखाउन सकेका छैनन्। गगनले कम्तिमा आफूले गरेका प्रयासको फेहरिस्त सुनाउँदै प्रयास गरेको र गरिरहेको तर सक्दै नसकेकोमा कम्तिमा क्षमायाचना गरे।
केन्द्रीय सदस्य नैनसिंह महरले फेसबुकमा सुधारका सुझाव त प्रस्तुत गरे तर त्यत्रो अस्वीकृत भइसकेको नेतृत्वलाई अब तपाईँहरु ससम्मान सल्लाह दिनुस हामी नेतृत्व गर्छौँ भन्ने आँट गरेको देखिएन। अरुको त कुरै छाेडाैँ।
विगतका जनआन्दोलनमा छातीमा गोली थापेको भन्नेहरु, जेनजीले देशै ‘कब्जा’मा लिएपछि चुइँक्क नबोलेका पार्टीका युवा नेताहरु, बरु पार्टी परित्यागको घोषणा गरेकाहरु, जेनजी युवाबीच केही तत्वको चलखेलले विवाद बढेपछि भने कोही फेसबुकमा त कोही कतै देखिन थाले, नेतृत्वकाे आँट लिएर हाेइन चाकरीको भाषा बाेकेर। त्यो उनीहरुको आफ्ना अस्वीकृत नेताहरुप्रतिकै बफादारी मात्र प्रतित हुन्छ।
जेनजीको विश्वास जितेर उनीहरुसँग ‘व्यवस्थामै बसेर देश हामी मिलेर बनाउँ, आउनुस हातेमालो गरौँ’ भनेको भए सायद आज व्यवस्था नै पाे केही हुने हो कि भन्ने त्रास गर्नुपर्ने थिएन।
जबकी राजनीतिक दलमा उदाएका र उदाउँदै गरेका युवामा अझ बढी सुझबुझ र अनुभव हुन्छ। उनीहरुले आफ्नो नरुचाइएको र अस्वीकृत नेतृत्वलाई आफू नेतृत्व गर्ने हुँकार दिएर अगाडि आएको भए अवस्था फरक हुनसक्थ्यो।
जेनजी पुस्ताले भनिरहेको थियो ‘हामीलाई धेरै प्राविधिक कुरा थाहा हुँदैन, तर हामी परिवर्तन चाहन्छौ।’ हो राजनीतिक दलको युवा पुस्ता यहीँनेर चुकिरहेको छ।
उनीहरुले आफ्नो अस्वीकृत नेतृत्वलाई हुँकार दिएर जेनजीको विश्वास जितेर उनीहरुसँग ‘व्यवस्थामै बसेर देश हामी मिलेर बनाउँ, आउनुस हातेमालो गरौँ’ भनेको भए सायद आज व्यवस्था नै पाे केही हुने हो कि भन्ने त्रास गर्नुपर्ने थिएन।
आलेख शिवराज योगी