Logo
२९ भदौ २०८२, आईतबार

देशभर भोलिदेखि सुपथ मूल्य पसल सञ्चालन

अक्षरपाटी
२०८२ भदौ २९ , आईतबार ०२:०९ मा प्रकाशित

काठमाडौं । भोलि सोमबारदेखि देशभर सुपथ मूल्य (सहुलियत) पसल सञ्चालन हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार चाडपर्व लक्षित सहुलियत पसल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सञ्चालनमा आउनेछ।

खाद्य व्यवस्था कम्पनीले ४५ जिल्लाका १११ स्थानमा र साल्ट ट्रेडिङले ४० स्थानमा पसल खोल्ने तयारी गरेको छ। यी पसलमार्फत नुन, चामल, दाल, गेडागुडी, तेल, आटा, पिठो, मैदा लगायत दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो ५ देखि ७ रुपैयाँसम्म छुट दिइनेछ। साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ तथा तेल, दाल र मैदामा ७ रुपैयाँसम्म छुट दिने जनाएको छ।

तर उपभोक्ताले बढी प्रतीक्षा गर्ने खसीबोका र च्याङ्ग्राको आपूर्ति भने अनिश्चित बनेको छ। खाद्य व्यवस्था कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार मुस्ताङबाट च्याङ्ग्रा ल्याउन सात दिनसम्म लाग्ने भएकाले अहिलेको विषम परिस्थितिमा कारोबार जोखिमपूर्ण रहेको छ। केही दिनमै यसबारे निर्णय हुने उनले बताए। कम्पनीले यस वर्ष करिब २ हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने लक्ष्य राखेको भए पनि आपूर्ति सुनिश्चित नभएको स्पष्ट गरिएको छ।

प्रदेशगत रूपमा सुपथ मूल्य पसल सबैभन्दा बढी कर्णाली प्रदेशका ४२ स्थानमा सञ्चालन हुने छन्। सुदूरपश्चिममा २८, लुम्बिनीमा १५, कोशीमा ११, गण्डकीमा ७, बागमतीमा ५ र मधेश प्रदेशमा ३ स्थानमा पसल खोलिनेछ।

सरकारले चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने मूल्यवृद्धि नियन्त्रण गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो।

सुपथ मूल्य पसल