काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् ।
दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । तीन जना मृतक एकै परिवारका हुन् ।
प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो । लक्ष्मी घाइते अवस्थामा अस्पताल पुर्याइएकी थिइन् तर उपचारका क्रममा उनको पनि मृत्यु भएको थियो । गम्भीर घाइते भएका अर्का यात्रु डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएको थियो तर उपचारकै क्रममा उनको पनि मृत्यु भएको थियो ।
घाइते भएका दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ ।
भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका अनुसार घटनापछि भारतीय दण्ड संहिता (भारतीय न्याय संहिता) को धारा १०६ अन्तर्गत लापरबाहीका कारण मृत्यु हुने कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको डीएसपी सिद्धार्थ शर्माले बताएका छन् ।
शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र मृतकका परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ ।
यसबीच, मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारसँग सरकार सधैं रहने र आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन् ।
त्यस्तै, शिक्षा मन्त्री तथा कोटखाई क्षेत्रका सांसद रोहित ठाकुरले पनि दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।