काठमाडौं। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको विशेष महाधिवेशन हुनुपर्ने भन्दै हस्ताक्षर अभियान थालेका छन्।
नेता गुरुराज घिमिरेलगायतले पार्टी सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणको निन्दा गर्दै अब विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन्।
पार्टी सभापति, पार्टी कार्यालय र नेताका घरमा छानी छानी आक्रमण भएलगत्तै पार्टीका महामन्त्री गगन थापाले आत्मालोचना गर्दै पार्टीमा व्यापक सुधार हुनुपर्ने बताउँदै आएका थिए।
महामन्त्री थापाले त्यसका लागि आफू पदबाट राजीनामा दिन तयार रहेको समेत बताइसकेका छन्।
पार्टी नेतृत्व र नेताहरु असक्षम भएको, समयानुकूल हुन नसकेको र अहिलेको पुस्ताको माग सम्बोधन गर्न पार्टीमा व्यापक हेरफेर हुनुपर्ने मत अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि रहँदै आएको छ।
यहीबेला प्रतिनिधिहरूले विगतका गल्तीहरूप्रति क्षमा याचना गर्दै हरेक नेता, कार्यकर्ता सुधारिएर भविष्य बनाउनका लागि विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका छन्।
पार्टी सभापति देउवा र उनकी पत्नी आन्दोलनकारीको आक्रमणमा घाइते भएर उपचाररत छन्। ‘यस्तो बेला नेतृत्व हेरफेरको कुरा उठाउनु घाउमा नुन छर्कने काम हो’ भन्दै पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जिकिर गरेलगत्तै हस्ताक्षर अभियान सुरु भएको हो।
पार्टी उपसभापति पूर्णबहादुर खड्का पनि अहिले नै नेतृत्व परिवर्तनका हेरफेरको पक्षमा छैनन्।
तर समय र नयाँ पुस्ताले पुरानै नेतृत्व तथा उही डर्राको काँग्रेस अब स्वीकार्य नहुने देखिएकाले विशेष महाधिवेशनको माग गरिएको हस्ताक्षरकर्ताको भनाइ छ।
जेनजी आन्दोलनपछि काँग्रेसमा देशभरबाट विशेष महाधिवेशन, अर्लि अधिवेशन वा राष्ट्रिय सम्मेलनको माग चर्को रुपमा उठिरहेको छ।
तर पुराना र जेनजी पुस्ताबाट अस्वीकृत नेताहरु भने अझै पनि पद त्याग गरेर काँग्रेसलाई नयाँ रुपमा अगाडि बढाउने मनस्थितिमा भने देखिँदैनन्।