० गणेश प्रसाद जाेशी
Bloom’s Taxonomy (ब्लूमको शिक्षण वर्गीकरण) सन् १९५६ मा शैक्षिक मनोवैज्ञानिक Benjamin Bloom र उनका सहकर्मीहरूले विकास गरेको अत्यन्तै प्रभावकारी शैक्षिक मोडेल हो।
यसले सिकाइका उद्देश्यहरूलाई क्रमिक रूपमा ६ तहमा वर्गीकरण गर्दछ- १. स्मरण,
२. बुझाइ
३. प्रयोग
४. विश्लेषण
५.मूल्यांकन र
६.सिर्जना।
यो मोडेल विद्यार्थीको चिन्तन क्षमताको विकासमा केन्द्रित छ। जसले शिक्षणलाई अर्थपूर्ण, गहन र व्यवहारिक बनाउँछ। यस सन्दर्भमा नेपालको शिक्षाप्रणाली र यसको अन्तरसम्बन्ध र प्रभावकारिता विषयमा यस लेखमा सारांशमा चर्चा गर्ने प्रयास गरिएको छ।
नेपालको पाठ्यक्रम र Bloom’s Taxonomy
नेपालको हालको पाठ्यक्रमकाे ढाँचामा २१औँ शताब्दीका सीपहरू विकास गर्ने उद्देश्य राखे पनि व्यवहारिक रूपमा अझै पनि स्मरणमुखी र परीक्षामुखी शिक्षण शैलीमै सीमित छ।
Bloom’s Taxonomy को उच्च तहमा पर्ने विश्लेषण, मूल्यांकन र सिर्जना जस्ता क्षमताहरू अभ्यास गराउने अवसर सीमित छन्। यद्यपि पाठ्यक्रम विकास केन्द्र र शिक्षा मन्त्रालयले Bloom’s Taxonomy मा आधारित सीपमूलक मूल्यांकन प्रवर्धन गर्न थालेका छन् ।
अझै यसको प्रभावकारिता शिक्षक प्रशिक्षण, शैक्षिक स्रोत र विद्यालय प्रशासनको प्रतिबद्धतामा निर्भर रहन्छ। यसको लागि बुलमको उच्चतहको विश्लेषण, मूल्यांकन र सृजना जस्ता शैक्षिक आयामहरूलाई प्रयोगमा ल्याउन र समग्र शैक्षिक र व्याक्तित्व विकासमा जोड दिन आजको समयमा यो सिद्धान्तको प्रयोग अपरिहार्य जस्तै देखिन्छ।
आध्यात्मिकता, वैज्ञानिक र वर्तमान समयसँगको सहसम्बन्ध
Bloom’s Taxonomy केवल वैज्ञानिक आधारमा तयार पारिएको मोडेल होइन, यसले मानव चेतनाको क्रमिक विकासलाई पनि सम्बोधन गर्छ।
स्मरणदेखि सिर्जनासम्मको यात्रा आत्मविकासको यात्रासँग मेल खान्छ। जहाँ व्यक्तिले जानकारीलाई ज्ञान, ज्ञानलाई बुद्धि र बुद्धिलाई मौलिक सृजनामा रूपान्तरण गर्छ।
आजको युगमा, जहाँ सूचना सहजै उपलब्ध छ, Bloom’s Taxonomy को Higher-Order Thinking Skills (HOTS) आवश्यक हुन्छ। शिक्षाले केवल ‘के हो’ भन्ने होइन, ‘किन’ र ‘कसरी’ भन्ने सिकाउन जरुरी भइसकेको छ। तसर्थ यो सिद्धान्त वैदिक पनि छ। वैज्ञानिक पनि छ र वर्तमान समय सुहाउँदो पनि छ।
नेपालको शिक्षण र मूल्यांकन प्रणालीमा सुधार अपरिहार्य
नेपालको शिक्षा प्रणाली अझै पनि परीक्षामुखी छ। परीक्षा भन्नासाथ केवल अंक वृद्धिको प्रतिस्पर्धा गराइन्छ। मूल्यांकन केवल स्मरण क्षमतामा आधारित छ, जुन Bloom’s Taxonomy को पहिलो तह मात्र हो।
शिक्षण प्रणालीले समूहकार्य, समस्या समाधान र सिर्जनात्मक सोच जस्ता सिपहरूको मूल्यांकन गर्ने प्रविधि विकास गर्नु आवश्यक छ। अनुसन्धानात्मक कार्य, आन्तरिक मूल्यांकन, परियोजनामूलक कार्य र प्रस्तुतीकरण जस्ता उपायहरूलाई बढावा दिनु आजको परम आवश्यकता हो।
शिक्षालाई चारित्रिक प्रमाण पत्र मात्रै होइन, सच्चा चरित्र निर्माणको आधारशिलाका लागि संस्कारसहितको शिक्षा र मूल्यमा आधारित शिक्षा आजको अपरिहार्यता हो।
अर्थपूर्ण सिकाइका लागि शिक्षकको भूमिका
Bloom’s Taxonomy को प्रभावकारी प्रयोगका लागि शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण छ। शिक्षक केवल जानकारी दिने होइन, सोच जगाउने, प्रश्न गराउने, बहस गर्ने वातावरण सिर्जना गर्ने मार्गदर्शक हुनुपर्छ।
शिक्षकले हरेक कक्षामा Bloom’s को विभिन्न तह अनुसार प्रश्नहरू तयार पार्ने, गतिविधिहरू गराउने र विद्यार्थीलाई सृजनात्मक उत्तर दिन प्रेरित गर्ने गर्नुपर्छ। यसका लागि निरन्तर तालिम, स्रोत सामग्री र मूल्यांकन मापदण्डको सुधार आवश्यक छ।
नेपालमा Bloom’s Taxonomy पूर्णरूपमा लागू नहुनुका कारण
करिव ७० वर्ष पहिले प्रतिपादित सिद्धान्त Bloom’s Taxonomy अझै पनि नेपालमा पूर्ण रूपमा लागू हुन सकेको छैन। यसको मुख्य कारणहरूमा:
• शिक्षक प्रशिक्षणमा Bloom’s को कमजोर समावेश
• पाठ्यपुस्तकको संरचना रटन्ते प्रवृत्तिमा आधारित
• मूल्यांकन प्रणालीमा सिर्जनात्मकताको अभाव
• शिक्षामा अभिभावक र विद्यालय प्रशासनको बुझाईमा संक्रिणता
यसलाई प्रभावकारी बनाउन शिक्षकलाई व्यवहारिक तालिम आवश्यक छ। पाठ्यपुस्तकलाई Bloom’s आधारित बनाउनुपर्छ र विद्यालयहरूमा सृजनात्मक मूल्यांकनका अभ्यासहरू अनिवार्य गर्नु आवश्यक छ।
अंकमुखी मूल्यांकन र सृजनात्मकताको यात्रामा अभिभावकको भूमिका
आजका अधिकांश अभिभावक अझै पनि परीक्षाको अंकलाई मात्र सफलताको मापदण्ड ठान्छन्। यसले बालबालिकामा तनाव र केवल रटन्ते प्रवृत्ति बढाउँछ। Bloom’s Taxonomy ले देखाएको सृजनात्मकतासम्मको यात्रामा अभिभावकहरूको सोच परिवर्तन अत्यावश्यक छ।
बालबालिकाको आचरण, सोच्ने तरिका, समाधान दिने शैली र सामाजिक उत्तरदायित्व पनि मूल्यांकन हुनुपर्छ। अभिभावकले अंकभन्दा सीपमा ध्यान दिनु र सन्तानलाई प्रेरणा दिने वातावरण दिनु आजको आवश्यकता हो।
नेपालको शिक्षालाई आजको वैश्विक चेतनासँग जोड्न अपिल
आजको विश्व ‘AI’, ‘Critical Thinking’ र ‘Global Citizenship’ को युगमा प्रवेश गरिसकेको छ। नेपालमा अझै पनि प्रम्परागत शिक्षण ढाँचा प्रयोग भइरहेको अवस्था छ।
Bloom’s Taxonomy जस्ता वैज्ञानिक र समकालीन मोडेलहरूलाई पाठ्यक्रम, शिक्षण विधि र मूल्यांकन प्रणालीमा पूर्ण रूपमा समावेश नगरी हामी विश्व प्रतिस्पर्धामा पछि पर्नेछौं।
अब समय आएको छ- हाम्रो शिक्षण पद्धतिलाई अन्तर्राष्ट्रियस्तरको चेतनासँग जोडौं, जसमा मूल्य, सीप र सिर्जनशीलताको समन्वय होस्।
निष्कर्ष
Bloom’s Taxonomy केवल शिक्षाशास्त्रीय ढाँचा होइन, यो विद्यार्थी, शिक्षक, अभिभावक र नीति निर्मातासम्म सबैका लागि सिकाइमा गहिरो दृष्टिकोण निर्माणको आधारशिला हो।
नेपालमा यसको पूर्ण कार्यान्वयन अझै चुनौतीपूर्ण भए पनि यदि पाठशाला, शिक्षक, अभिभावक र नीति निर्माताहरू मिलेर अगाडि बढे, यसले नेपालको शिक्षा प्रणालीलाई अर्थपूर्ण, समकालीन र समावेशी वनाउने छ। जसले हाम्रा विद्यार्थीहरूको वहुआयामिक व्यक्तित्व निखार्न मद्दत गर्नेछ।
(लेखक : चैतन्य एकेडेमीका अध्यक्ष हुन्)